• २१ वैशाख २०८१, शुक्रबार

ताक्लाकोट जान सीमा पास लिने बढे

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख ८ गते । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले चैत १५ गतेयता सीमा पास लिने हुम्लावासीको भिड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी अमृतकुमार चीनको ताक्लाकोट जानका लागि यस वर्ष चार हजार जना हुम्लावासीले सीमा पास नयाँ लिएको बताउनुभयो । ८७८ जनाले पुरानो सीमा पासलाई नवीकरण गर्ने कार्य भएको बताउनुभयो । सीमा पास लिने र नवीकरण गर्ने हाल दैनिक ५० जनाभन्दा बढी हुम्लावासी कार्यालयमा आउने गरेका कारण हिजोआज काम नै यही भएको उहाँले बताउनुभयो । 

उहाँले ताक्लाकोटमा गएर व्यापार व्यवसाय गर्ने र रोजगारका लागि जाने जिल्लावासीलाई एक वर्षका लागि सीमा पास उपलब्ध गराएको बताउनुभयो । गत वर्ष वैशाख १८ गतेदेखि हिल्सा नाका चीनले दुईतर्फी खुला गरेपछि जिल्ला प्रशासनमा सीमा पास बनाउन आउने सेवाग्राहीको भिड बढ्ने गरेको हो । फागुनमा दैनिक पाँचदेखि १० जनासम्म सीमा पासका लागि आउने गरेको भए पनि चैतको दोस्रो सातादेखि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका व्यवसायी तथा बेराजगारहरू आउने गर्नुभएको छ । 

नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीका तीन गाउँबाट दुई सय जना बेरोजगारहरू ताक्लाकोट गएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । युवायुवती सबै ताक्लाकोट गएपछि लिमीको गाउँमा बुढाबुढी बालबालिका रहनुभएको छ । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजाकोट, चङ्खेली र अदानचुली गाउँपालिकाका स्थानीय पनि सीमा पास बनाउन आउन थाल्नुभएको छ । हुम्लावासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ ।