• २० वैशाख २०८१, बिहिबार

ग्रान्डमास्टर महर्जन सम्मानित

blog

ग्रान्डमास्टर दिवाकर महर्जन सम्मानित हुँदै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ६ गते । नेप्लिज तेक्वान्दो एकेडेमी र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहीबार संयुक्तरुपमा ग्रान्डमास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले महर्जनलाई सम्मान गर्नुभयो ।

करिब तीन दशक अमेरिकालाई कर्मथलो बनाएर नेपाली तेक्वान्दो खेलको प्रवर्धन र विकासमा निरन्तर योगदान दिएको कदरस्वरुप ग्रान्डमास्टर महर्जनलाई सम्मान गरिएको हो । ग्रान्डमास्टर महर्जनले नेपाली तेक्वान्दो र नेपाली तेक्वान्दो खेलाडीलाई निरन्तर सहयोग गरिरहने बताउनुभयो । उहाँले अहिले पनि अमेरिकाको पोर्टल्यान्डमा २८ वर्षअघि आफूले स्थापना गरेको युएसडब्ल्यूसी तेक्वान्दो एसोसिएसन हलिउडमार्फत् तेक्वान्दो खेलाडी उत्पादन गरिरहनुभएको छ।

नेपाली तेक्वान्दो क्षेत्रमा परिचित महर्जन दोहोरो आठौँ डान पदवी हासिल गर्ने नेपालको पहिलो व्यक्ति हुनुहुन्छ । केही महिनाअघि मात्र विश्व तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परीक्षा उत्तीर्ण गर्नुभएका थियो । एक वर्षअघि कोरियाली मार्सलआर्टस् एसोसिएसन हाप्किदो हेडक्वाटरबाट पनि आठौँ डान प्राप्त गर्नुभएको थियो ।

यसैगरी महर्जन अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का परिकल्पनाकार पनि हुनुहुन्छ । आइओएफटिसी प्रत्येक दुई वर्ष फरक–फरक देशमा आयोजना हुनेगर्छ । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोस्रो संस्करणमा यो प्रतियोगिता फर्किन्छ ।

यस पटक पनि दक्षिण कोरियाको सोलमा हुने १४ औँ आइओएफटिसीमा नेपालका ६ खेलाडी चयन गर्न आयोजित फ्रेन्डसीप खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिलसिलामा महर्जन नेपाल आउनुभएको हो ।