• १९ वैशाख २०८१, बुधबार

हर्बल उद्योग परिसरमा आगलागी

blog

गजेन्द्र गुरुङ

खजुरा, वैशाख ६ गते । बाँकेमा रहेको एक जडीबुटी प्रशोधन केन्द्रमा आगलागी भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवास्थित जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार बिहानदेखि आगलागी सुरु भएको हो ।

जडीबुटी प्रशोधन गर्ने बाहुबली हर्बल उद्योग प्रालिको परिसरमा राखिएका सल्लाको खोटो तथा दाउरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । बिहीबार बिहान अन्दाजी ७ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको उहाँले जानकारी दिनुभयो ।

नेपालगन्ज विमानस्थलको दमकललगायत बाँकेका विभिन्न पालिकाका गरी ६ वटा, जिल्ला प्रहरीको वाटर क्यानल, बर्दियाका विभिन्न स्थानीय पालिकाका ३ वटा, रुपैडिहा भारतको एक गरी ११ वटा दमकलबाट आगलागी नियन्त्रणको प्रयास भइरहेको आगलागी स्थलमा रहनुभएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

“उद्योगमा आगो पुगिसकेको छैन, उद्योगको बाहिर खाली ठाउँमा जम्मा गरिएर राखिएको ठुलो मात्राको सल्लाको खोटो र दाउरामा आगलागी भइरहेको छ, नियन्त्रण प्रयास जारी छ ।” प्रजिअ पोखरेलले भन्नुभयो, “सल्लाको खोटो भएका कारण तुरुन्तै नियन्त्रणमा ल्याउन सकिने अवस्था देखिँदैन, कठिन छ, उद्योगको गोदाम र कारखानातर्फ आगो नफैलियोस भनेर नियन्त्रण प्रयास जारी छ, गोदामलाई खाली गराउने कार्य जारी छ ।”

आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेनासहित बाँकेका प्रजिअ श्रवणकुमार पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की आगलागी स्थलमा पुग्नुभएको छ ।