काठमाडौं, वैशाख ५ गते। नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ।जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो।
बुधबार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीकाका प्रवक्ता जगन्नथ खतिवडाले बताउनुभयो।
असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताउनुभयो।उहाँले संगठनको तलबाट माग भए बमोजिम र जिल्ला संगठनबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहर्याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौँ।जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशनलाई सारेका छौँ ।’
बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पनि बताउनुभयो।गठबन्धनमा देखिएका समस्याका बारेमा पनि छलफल भएको र आफ्नो पार्टीलाई अवमूल्यन गर्ने गतिविधिविरुद्ध तत्काल प्रतिवाद गर्ने निर्णय गरेको बताउनुभयो।