• १८ वैशाख २०८१, मङ्गलबार

वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार

blog

काठमाडौँ, वैशाख ५ गते । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवम् प्राध्यापक शिव गोपाल रिसाललाई वि.सं.२०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा सांसद पशुपति शमशेर जबराले रिसाललाई २५ हजार राशिको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो ।

त्यसअवसरमा ५० हजार राशिको ‘भरतकेशर सिंह विश्व हिन्दु अन्तर्राष्ट्रिय’ पुरस्कार महन्थ सुरेन्द्रनाथ अवधूतलाई प्रदान गरियो । कार्यक्रममा नीना भेटुवाल, शोभित उप्रेती र लक्ष्मण सापकोटालाई ‘विश्व हिन्दु सेवा रत्न’ सम्मान प्रदान गरियो । मुलुकको कला, धर्म, संस्कृति, भाषा, संस्कार, वेशभूषा तथा सनातन वैदिक उन्नयनमा विशिष्ट योगदान पुर्‍याउने प्रा.डा.माधवप्रसाद भट्टराई, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलगायत ११ जनालाई पनि समारोहमा सम्मान गरियो ।

रामनवमीका अवसरमा आयोजित उक्त कार्यक्रममा जैन, सिख, बौद्ध धर्म गुरुले स्वस्ति वाचन गर्नुका साथै मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको तस्बिरमा माल्यार्पण गर्नुभयो । वि.सं.२०३० मा स्थापित महासङ्घले विश्वभर रहेका वैदिक सनातन धर्मावलम्बीलाई एकाकार गरी विश्वशान्ति र सहअस्तित्व कायम गर्ने साझा संस्थाका रूपमा काम गर्दै आएको कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिनुभयो । त्यसअवसरमा महासङ्घद्वारा प्रकाशित ‘धम’ नामक स्मारिकाको विमोचन समेत गरियो । रासस