• १२ साउन २०८१, शनिबार

अमृता खत्री मृत्यु प्रकरण:

सीआईबीबाट छानबिनकाे माग, पोष्टमार्टम रिपोर्टपछि मात्रै अन्त्येष्टि गरिने

blog


कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ५ गते । रुपन्देहीको तिलोत्तमा २ की २८ वर्षीया एक महिलाको शङ्कास्पद ज्यान गएपछि शुरु भएको आन्दोलन अझै रोकिएको छैन । अमृता खत्री टण्डनको रहस्यमय रुपमा मृत्यु भएको पाँच दिन बितिसके पनि घटनाको विवाद झन् चर्किरहेको छ । उहाँको चैत्र ३० गते राति मृत्यु भएको हो । अहिले दैनिक माइती पक्षले न्यायको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

पछि माइती पक्षले घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गराउन माग गरेका छन् ।

आइतबार माइती पक्षले तिलोत्तमा २ जानकीनगरमा पत्रकार सम्मेलन गर्दै विष सेवन नभई हत्या नै भएको दाबी गर्दै अनुसन्धान फितलो नबनाउन खोजिएको भन्दै प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । 

ज्यान कसुरमा मुद्दा दर्ता गर्न जाँदा आलटाल गरेको मृतकका दाजु पुष्पक खत्रीको आरोप छ । ‘राति ९ः३२ सम्म मसँगै कुरा भएको छ, ९ः५० मा लुम्बिनी अस्पतालले मृत भनेको छ । ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ,’ पुष्पकले भन्नुभयो, ‘सरसर्ती हेर्दा पनि बहिनीको हत्या भएकै देखिन्छ ।’

उहाँले आफूहरु अन्यायमा परेको बताउँदै प्रहरीबाट निष्पक्ष अनुसन्धानको चाहना राखेको बताउनुभयो । 

विष सेवन गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा उपचारका क्रममा मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद देखिएपछि पीडितले हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

अमृताका दाजु खत्रीले दिएको जाहेरीपछि वैशाख १ गते प्रहरीले अमृताका श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनलाई पक्राउ गरेको छ । शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयो । यतिबेला आन्दोलनभन्दा पनि आफूहरुलाई अनुसन्धानमा सघाउन उहाँले पीडित पक्षसँग आग्रह गर्नुभएको छ ।