• १८ वैशाख २०८१, मङ्गलबार

कानेपोखरी-रङ्गेली सडक निर्माणमा ढिलाई

blog

कानेपोखरी–रङ्गेली सडकको रमाइलो खण्डमा भत्काइएको सडक । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला   

उर्लाबारी, वैशाख ५ गते । मोरङको कानेपोखरी–रङ्गेली सडक खण्ड अन्तर्गत रमाइलो चौकमा मर्मतका लागि भत्काइएको सडक १ महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।

स्थानीयले मर्मतको सुनिश्चितता नभएसम्म नभत्काउन आग्रह गर्दागर्दै लामा–डाँफे–जी कन्चनजंघाका कामदारले फागुन २८ गते सडकको मध्यभागमा भत्काएका थिए । कानेपोखरी–रङ्गेली सडकबाट दोहमना छुट्ने दोवाटोमा सडक भत्काएकोले हालसम्म ७ वटा साना ठूला दुर्घटना भइसकेको स्थानीय नवीन पौडेलले बताउनुभयो । पौडेलका अनुसार फागुन २८ गते सडक मर्मतका लागि भत्काउँदा निर्माण कम्पनीका इन्जिनीयर प्रियस खतिवडाले १ साताभित्र सडकमा अस्फाल्ट हालिसक्ने जवाफ दिनुभएको थियो । तर पाँच हप्ता बितिसक्दा पनि काम सुरु भएको छैन । 

लामा–डाँफे–जी कन्चनजंघाका इन्जिनीयर प्रियस खतिवडाले भन्नुभयो, "थोरै ठाउँमा कालोपत्रे गर्न समस्या हुन्छ । भत्काइएको ठाउँमा अस्फाल्ट हाल्ने र थिच्ने मात्र काम हो । नजिकै कुनै निर्माण कम्पनीले अस्फाल्टको काम गरेको बेला त्यहाँ कालोपत्रे गर्ने काम हुन्छ ।"

 यता स्थानीयले भने मुख्य सडकको काम १ महिनासम्म नहुँदा हुलाकी सडक आयोजना बबरमहलसम्म पत्राचार सहित ज्ञापन पत्र बुझाइसकेका छन् । स्थानीय नवीन पौडेलले भन्नुभयो, "हामीले ज्ञापन पत्र बुझाएको पनि २ साता भइसक्यो । तर काम हुने छाँट छैन ।"