• १८ वैशाख २०८१, मङ्गलबार

मेसिनको प्रयोगबाट चैते धान रोपियो

blog

मेसिनबाट धान रोप्ने कार्यको शुभारम्भ गर्नु हुँदै जिल्ला समन्वय समितिका प्रमुख ।

केशवचन्द्र महरा

दिपायल, वैशाख ५ गते । डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि ज्ञान केन्द्र डोटीले शिखर नगरपालिकासँगको समन्वयमा जिल्लामा पहिलो पटक मेसिनबाट धान रोप्न सुरु गरेको हो ।

शिखर नगरपालिका-२ कालागाडमा मंगलबार चैते धान रोप्ने क्रममा मेसिनबाट धान रोप्ने प्रविधिको परीक्षण गरिएको हो । कृषि कार्यका लागि जनशक्ति नपाइने अवस्था भएको बेला आधुनिक कृषि उपकरणहरूको प्रयोग गरी कृषि कार्यलाई सहज बनाउने उद्देश्यका साथ यो परीक्षण गरिएको ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिनुभयो ।

उपकरणको प्रयोगले एकातिर श्रमिक नपाइने समस्या समाधान हुने र अर्कोतिर लागत पनि कम हुने बताउँदै अवस्थीले भन्नुभयो, "एक बिगाहा जमिनमा मान्छे लगाएर रोप्दा करिब १५ हजार खर्च हुन्छ भने मेसिनबाट चार हजार रुपैयाँमै पूरा हुन्छ । मेसिनको प्रयोगले बिउ पनि कम लाग्ने र झण्झट पनि कम हुने गर्छ।"

तराईका जिल्लाहरूमा मेसिनको प्रयोग फस्टाउँदै गएको भएपनि पहाडी जिल्लामध्ये डोटीमा पहिलो पटक मेसिनको परीक्षण गरिएको अवस्थीले बताउनुभयो । "डोटीमा पहिलो पटक मेसिनको प्रयोग भएको छ, यदि किसानहरूले यसलाई रुचाए भने आगामी आर्थिक वर्षमा सहुलियत दरमा उक्त मेसिन उपलब्ध गराउन सकिने छ," उहाँले भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहलेधान रोप्ने मेसिनको एक कार्यक्रमकाबिच शुभारम्भ गर्नुभयो । मेसिनको शुभारम्भ गर्दै उहाँले कृषिमा आधुनिकीकरण गर्न सके मात्रै नेपाल आत्मनिर्भर हुन सक्ने बताउनुभयो । "प्रविधिको युगसँगै अब सबै किसानहरूले प्रविधिसँग अभ्यस्त हुनु जरुरी छ । यसले लागत पनि कम हुन्छ र समयको पनि बचत हुन्छ," उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषिमा आधुनिकीकरण गर्न मेसिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । मेसिनको प्रयोगबाट कृषकहरूलाई सहज हुने स्थानीय अगुवा किसान नरेन्द्र शाहीले बताउनुभयो । "हामीले गोरुको सट्टा हाते ट्याक्टर (पावर ट्रेलर) प्रयोग गर्दा धेरै सहज भएको छ", उहाँले भन्नुभयो, "अब रोप्ने मेसिनले थप सजिलो हुने विश्वास छ ।"