• १८ वैशाख २०८१, मङ्गलबार

अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख ४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताउनुभएको छ। मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताउनुभयो।

उहाँले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीले लिन आवश्यक नरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनः गठन हुने कुरालाई अस्थिरताको रूपमा बुझ्न नहुने पनि बताउनुभयो।


उहाँले भन्नुभयो, ‘‘अहिले अध्यक्षको तर्फबाट राजेशजीले केही गम्भीर विषय व्यवस्थित रूपले उठाउनुभएको छ। नेपाल उद्योग परिसंघले निजी क्षेत्र र सरकारसँगको सहकार्यको बारेमा रचनात्मक र सिर्जनात्मक ढङ्गले आफ्ना विषय राख्दै आएको छ। यस बिचमा परिसंघले दिएका सुझाव सरकारका निम्ति राम्रो फिडब्याकका रूपमा भूमिका खेलेका थिए। राजनीतिक अस्थिरता फेरि केही हुन्छ कि जस्तो देखिँदै छ भन्नेकुरा गर्नुभयो। म के विश्वास दिलाउन चाहन्छु भने यो नेपालमा सिँगै अवधिभर अर्को चुनाव नहुँदासम्म सरकार चलिराख्छ। त्यसमा तपाईँहरूले कुनै तनाव लिनुपर्ने आवश्यकता छैन। मिडियामा यदाकदा चल्ने छलफललाई तपाईँहरूले यति गम्भीरतापूर्वक लिनु जरुरी छैन। १५ महिनामा मैले तीन पटक विश्वासको मत लिएँ। तर प्रधानमन्त्री म नै छु। हाम्रो प्रणाली प्रधानमन्त्री सिस्टम हो, प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनः गठन हुने कुरालाई अस्थिरताको रूपमा बुझ्न हुँदैन। सरकार निरन्तर रहन्छ, केही हुन्छ कि भन्ने दिमागबाट हटाउँदा हुन्छ।’

सरकारले उद्योगी, व्यवसायीको सुझावलाई गम्भीरताका साथ लिएको पनि बताउनुभयो।