• १३ साउन २०८१, आइतबार

स्ट्रबेरी खेतीमा प्रेम नेपाली

blog

स्ट्रबेरी टिप्दै गुल्मीको रेसुङ्गा नगरपालिका–६, सिमाघाटका प्रेम नेपाली ।

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ४ गते। गुल्मीको रेसुङ्गा नगरपालिका–६, सिमाघाटका प्रेम नेपालीले व्यावसायिक रुपमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ। अघिल्लो वर्ष परीक्षणको रुपमा स्ट्रबेरी खेती गर्नुभएका उहाँले बजार राम्रो पाएको हुँदा यो वर्षदेखि व्यावसायिक रुपमा नै स्ट्रबेरी खेती गरेको बताउनुभयो।

अन्य व्यावसायिक खेतीको तुलनामा स्ट्रबेरी खेती जिल्लाका कमै कृषकले गरेका छन्। एक रोपनी क्षेत्रफलमा उत्पादन भएको स्ट्रबेरीलाई तम्घास बजारमा बिक्री गर्दै आएको उहाँको भनाइ छ। 

अहिले ५ किलो स्ट्रबेरी दैनिक उत्पादन भएको भन्दै उहाँले प्रतिकिलो स्ट्रबेरी ४०० देखि ५०० रुपियाँसम्ममा बिक्री हुने गरेको बताउनुभयो। बजार राम्रो हुँदै गएपछि खेती विस्तार गर्ने सोच रहेको उहाँको भनाइ छ। 

नेपालीले विभिन्न जातका तरकारी खेती गर्नुभएको छ। २०७३ सालमा १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती सुरु गर्नुभएका उहाँले तरकारी खेतीबाट राम्रो आम्दानी भएसँगै हाल १२० रोपनी क्षेत्रफलमा तरकारी खेती सुरु गर्नुभएको हो।

नेपालीले फार्ममा हाल स्ट्रबेरी, फर्सी टमाटर, काउली, बन्द, तिते करेला, लौका, काँक्रा, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौंलालगायत मौसमी तथा बेमौसमी खेती उत्पादन गर्दै आउनुभएको छ।

शून्य लगानीबाट व्यवसायी सुरु गर्नुभएका नेपालीको फार्ममा अहिले २० लाख रुपियाँभन्दा बढी लगानी भएको छ। फार्ममा हाल २६ वटा टनेल छन्। उहाँले आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आउनुभएको छ।