• १९ असार २०८१, बुधबार

सुरक्षा चुनौतीमा मतदान स्थल

blog

तस्बिर : कमल शर्मा जिल्ला सुरक्षा समितिको टोली डुङ्गेश्वर गाउँपालिकामा रहेको मतदान स्थल निरीक्षण गर्दै ।

दैलेख समाचारदाता

दैलेख, वैशाख ५ गते । जिल्ला सुरक्षा समितिले दैलेखका ४६ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको जनाएको छ । मतदान स्थलको स्थलगत निरीक्षणपछि जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका दृष्टिले अतिसंवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो ।

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले १३६ मतदान स्थलमध्ये ४६ अतिसंवेदनशील, ५५ संवेदनशील र ३५ सामान्य मतदान स्थल रहेको जानकारी दिनुभयो । उहाँले विगतको निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्थालगायतलाई आधार बनाई मतदान स्थलको वर्गीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा मतदान स्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाएर ती मतदान स्थलबाट मतगणना स्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्नसमेत आवश्यक सुरक्षा सजगता अपनाउँदै सुरक्षाकर्मी परिचालन गर्न सुरक्षा समितिको बैठक बस्ने बताउनुभयो । 

सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीसहित निर्वाचन कार्यालयका प्रमुखको टोलीले जिल्लाका ११ वटा स्थानीय तहमध्ये केही स्थानीय तहमा रहेका मतदान स्थलहरूको निरीक्षण गरेको र केही स्थानीय तहमा रहेका मतदान स्थलको निरीक्षण गर्नेक्रम जारी रहेको जानकारी दिएको छ । सुरक्षा समितिले २०७४ सालको निर्वाचनमा जस्तो यस पटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने विश्लेषणसमेत गरेको छ ।