• १४ मंसिर २०८१, शुक्रबार

समयमै पुग्यो पाठ्यपुस्तक

blog

अमरराज नहर्की 

तनहुँ, वैशाख ४ गते । तनहुँमा यस वर्ष शैक्षिक सत्र सुरुवातसँगै १० वटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुने बेलासम्म पनि पाठ्यपुस्तक अभाव हुने गरेको थियो । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र सापकोटाले विगतमा नेपाली र अङ्ग्रेजी माध्यमका किताब समयमा नपाइने अवस्था रहेकोमा यस पटक पर्याप्त मात्रामा पुस्तक आएकाले सबै स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको बताउनुभयो । अध्यक्ष सापकोटाले भन्नुभयो, “तनहुँबाट सबै व्यवसायी जनक शिक्षा सामग्री केन्द्रमा गएर माग गरेका थियौँ, चाहिएको र माग गरेको सङ्ख्या बराबर पुस्तक उपलब्ध भएकाले अभाव भएन ।” 

सापकोटाका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक सबै पालिकामा पुगिसकेको छ । विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक ल्याइएको छ । यो वर्ष महासङ्घमा आबद्ध जिल्लाका करिब ७० जना व्यवसायीले करिब १५ देखि २० लाख लगानी गरेर कक्षा १ देखि १० सम्मको माग अनुसार पूरै पुस्तक जिल्लामा भित्रिएको महासङ्घ केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो तर यस शैक्षिक सत्र २०८१ का लागि सरकारी पाठ्यपुस्तक अभाव छैन । 

दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईले यस वर्ष जनक शिक्षाले नेपालीलाई अङ्ग्रेजीमा उल्था गरी अङ्ग्रेजी माध्यममा समेत पाठ्यपुस्तक उपलब्ध गराएकाले विद्यार्थीलाई निजी पब्लिकेसनको महँगो पुस्तक किन्न नपर्दा अभिभावकमा आर्थिक भार नपर्दा खुसी भएको बताउनुभयो । भट्टराईले भन्नुभयो, “पहिला अङ्ग्रेजी माध्यमका लागि निजी पब्लिकेसनको पुस्तक किन्नुपर्ने बाध्यता थियो, अहिले हटेको छ ।” 

तनहुँमा ५५१ सामुदायिक र ११९ निजी विद्यालय रहेको जिल्लामा पाठ्यपुस्तको अभाव नभएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ । शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेकाले विद्यार्थीले पुस्तकको अभाव झेल्नु नपरेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक काशीनाथ देवकोटाले बताउनुभयो । गाउँपालिकामा पाठ्यपुस्तक खरिदका लागि समयमै निकासा गरिदिएपछि विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सहज भएको उहाँले जानकारी दिनुभयो ।