• २४ असार २०८२, मङ्गलबार

सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

blog

तोडफोड गरिएको श्री कृष्णको मूर्ति । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, असार २४ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको छ । गाउँपालिका–२को सादेवास्थित उक्त मन्दिरमा राखिएको मूर्ति तोडफोड भएको हो ।

मूर्ति मन्दिरबाट करिब २० मिटर तल लगेर तोडफोड गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो । उहाँका अनुसार मूर्तिको एउटा हात भाँचिएको र मूर्ति पूर्णरुपमा तोडफोड भइ पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ ।

मूर्ति कसले मन्दिरबाट बाहिर निकाली तोडफोड गरे भन्नेबारे अनुसन्धान सुरु गरिएको अध्यक्ष राईको भनाइ छ  । करिब १ महिना अघि मात्र उक्त मूर्तिको अनावरण गरिएको थियो । मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले अनावरण गर्नुभएको थियो ।

मूर्ति पालिका अध्यक्ष राईको पहलमा भारतबाट ल्याइएको हो । केही समय आफ्नै घरमा राखेर पूजा गर्ने गरेको पनि राईले बताउनुभयो । घटना ठुलो भएकाले निष्पक्ष छानबिन गर्ने राईको भनाइ छ । उक्त मूर्ति राख्ने समयमा केही असन्तुष्ट पक्षहरूले नराख्न आग्रह गर्दै आएका थिए ।