• १५ जेठ २०८१, मङ्गलबार

विकासको जनमैत्री मोडेल

blog

समुदायसँग मिलेर अनि समूह एकताका साथ काम गर्ने संस्कार सम्बन्धमा एउटा पूर्वीय भनाइबाट यो आलेखको प्रारम्भ गरौँ :

“जनतासँग जाऊ

उनीहरूसँगै बस

उनीहरूसँगै सिक

उनीहरूलाई माया गर

उनीहरूलाई जे थाहा छ, त्यसैबाट कार्य प्रारम्भ गर

उनीहरूसँग पहिले भएको क्षमता र सम्भावनामा 

क्रमशः सुधार ल्याउँदै जाऊ

सबभन्दा राम्रो नेतृत्व क्षमता त्यतिबेला देखिन्छ

जब अगाडि बढाएको काम सम्पन्न हुन्छ

उनीहरूको काम सकिन्छ

ती जनताले भन्ने छन्

यो काम त हामी आफैँले गरेका हौँ ।”

कुन क्षेत्र वा विषयमा समस्या छ, त्यसको समाधान खोजिनुको सट्टा जुन पक्षमा सर्वसाधारण जनता र सामुदायिक सङ्गठनको क्षमता बलियो छ, त्यही सबल पक्षबाट सुरु गरेर उनीहरूकै सहभागितामा सम्भावनाको प्रयोग गर्ने र परिआउने व्यवधानसँग मुकाबिला गर्ने, परिणाम निकाल्ने र गरेका कामको स्वामित्व लिने गरी सार्वजनिक काम हुन सक्छन् । उदाहरणका लागि सडक बालबालिका विद्यालयमा फर्केर सामान्य रूपमा पढ्नलेख्न नमान्न सक्छन् तर उनीहरूलाई सिप पनि सिक्ने र आय आर्जन पनि हुने खालको इकोनोमिक हब वा उत्पादन हबको सदस्यका रूपमा वतावरण सिर्जना भने गर्न सकिन्छ । त्यसै गरी सिँचाइसम्बन्धी समस्या समाधानका लागि परम्परागत कुलो वा नहर व्यवस्थापन गर्ने समितिसँग संवाद गर्न सकिन्छ । विद्यालयमा रहेका समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्वयम् विद्यार्थीसँग संवाद गर्न सकिन्छ ।

जनकेन्द्रित विकास मोडेल

जनकेन्द्रित विकासको मोडेलले समग्र विकास प्रक्रियामा व्यक्तिगत तहमा गुणस्तरीय जीवन र सशक्तीकरणको विषयलाई प्राथमिकतामा राख्दछ । यसले आर्थिक वृद्धिमा मात्र सीमित नबनेर विकास प्रक्रियामा समुदायलाई सहभागी गराउने र सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षमा समेत जोड दिने गर्दछ । जनतालाई केन्द्रमा राखी विकास र परिवर्तनको विषय उठान गर्ने चिन्तक र अभ्यासकर्ताहरू विभिन्न समयमा चर्चामा रहेको पाइन्छ ।

डुडली सिर्सका अनुसार आमजनतालाई फाइदा हुने काम के कति हुन सक्यो भन्ने कोणबाट विश्लेषण हुनुपर्ने र यसरी विश्लेषण गर्दा यदि गरिबी, बेरोजगारी र असमानता घटिरहेको छ भने विकास भइरहेको छ भन्ने मान्नु पर्दछ । बङ्गलादेशका मोहम्मद युनुसले प्रयोगमा ल्याएको लघुवित्तको ‘३ स’ मोडेल अर्थात् सानो पुँजी, समूह र सिपको संयोजनलाई सघाउने ग्रामीण बैङ्कको प्रयोगलाई समेत जनकेन्द्रित विकासको एक सफल उदाहरण मान्न सकिन्छ । 

त्यस्तै अमत्र्य सेन र महबुब उल हकले विकास गरेको मानव विकासको अवधारणाले पनि व्यक्तिको औसत आयु, प्रतिव्यक्ति आय र साक्षरतालाई सूचकका रूपमा लिई सबै देशको अवस्था चित्रण गर्ने गरिएको छ । जनकेन्द्रित विकास मोडेलको सिद्धान्तका रूपमा खास गरी सहभागिता, समावेशी, मानवाधिकार, दिगोपन, क्षमता विकास र सशक्तीकरण छन् । सन् १९७० को दशकपछि मात्र तलबाट माथिसम्म प्रवाह हुने विकास मोडेलका रूपमा जनकेन्द्रित विकास अवधारणा आधुनिकीकरण विकास अवधारणाको विकल्पका रूपमा प्रयोगमा आएको पाइन्छ । जनकेन्द्रित विकास अवधारणाले खास गरी पूर्वाधार विकास, मानव विकास र दिगो विकासलाई बराबर महत्व दिँदै सन्तुलित विकासमा जोड दिन्छ । 

सर्वसाधारण जनता नै क्रियाशील हुने र व्यक्तिगत तथा समुदायस्तरमा विकासको जिम्मा लिएर संस्थागत प्रयत्न गर्ने मोडेलका रूपमा यसलाई लिइन्छ । ग्रासरुट तहमा रही समुदाय बनाउनेहरूको समूह सदा सक्रिय राख्नुपर्ने हुन्छ । वर्तमान नेपालमा टोल विकास संस्थाहरू र सामुदायिक संस्थाहरूको भूमिका यो दिशातर्फ निर्देशित भएको देखिन्छ । कुनै पनि व्यक्तिको पारिवारिक अवस्थामा सुधार गर्न तथा समुदायलाई समुन्नत र समृद्ध बनाउनका लागि केही मोडेल वा तरिका प्रयोगमा ल्याउन सकिने देखिन्छ । 

कमीकमजोरी र समस्याकेन्द्रित भएर समाधान खोज्ने र माथिबाट तलतिर अरू नै व्यक्ति र संरचनामार्फत समस्या समाधानको खोजी गर्ने मोडेल पुरानो भइसक्यो । यसको सट्टा कमीकमजोरी समाधानमा नागरिककै सक्रिय सहभागिता जुटाउने एवं उनीहरूलाई जिम्मेवारी दिने र उक्त समस्यासँग सम्बन्धित छरछिमेकलाई समेट्ने र उनीहरूको भूमिकालाई सम्मान पनि गर्ने मोडेल दिगो र प्रभावकारी हुन सक्छ । समाज निर्माणका एकाइहरूका रूपमा खास गरी सिपयुक्त स्थानीय बासिन्दा आफैँ, स्थानीय स्तरमा व्रिmयाशील सामाजिक सञ्जालहरू, सार्वजनिक वा निजी वा गैरनाफामूलक संस्थाहरूबाट व्यवस्था गरिएको स्रोतका साथै स्थानीय भूक्षेत्रमा रहेका भौतिक र आर्थिक स्रोत र हामी आपसमा मिलेर सम्पादन भएका साझा उपलब्धिहरू हुन सक्छन् । 

यसरी संयन्त्रको प्रयोग गरिरहँदा नागरिकलाई सेवाग्राहीका रूपमा वा कुनै चिज माग गर्ने पक्षका रूपमा मात्र लिने नभई विकासको मुख्य सरोकारवालाका रूपमा रही सम्भावना, सिर्जनशीलता र नवप्रवर्तनको मूल आधारका रूपमा काम गर्नुपर्ने भनेर पहिचान गरिनु पर्दछ । नागरिक कहिले पनि अदृश्य शक्ति हुनु हुँदैन । सबैले देख्ने र प्रयोगमा आउन सक्ने स्रोतका रूपमा उनीहरूलाई हेरिनु पर्दछ । के बुझ्न जरुरी छ भने विकासमा देखिने गरी परिवर्तन ल्याउन यदि कसैले सक्छ भने त्यो जनता वा नागरिक नै हो । 

मेरी डोसेनले नेपालमा गरिबीको बहस नामक पुस्तकमा उल्लेख गरे अनुसार नेपालमा सञ्चालन गरिएका विकास आयोजनाहरू गरिबीको व्यापार गर्ने कारखाना हुन् । लामो समयसम्म आयोजनाहरू पूरा नहुने र दाताहरू संलग्न हुने काममा समेत ढिलासुस्ती रहिरहनु एउटा नियति नै बन्न पुगेको छ । नेपालमा सहभागितामूलक विकासको उदाहरण दिँदा पञ्चायतकालको गाउँफर्क अभियान, प्रजातन्त्र पुनस्र्थापनापश्चात्को ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ लाई सम्झने गरिन्छ । 

त्यस्तै सामुदायिक वनको विस्तार र यसले समूह निर्माण तथा नेतृत्व विकासमा सकारात्मक परिवर्तन ल्याएको भनेर व्याख्या भएको पाइन्छ तर वनको विस्तार र विकास कार्यका बिच भने अझै पनि त्यति सुमधुर सम्बन्ध भने छैन । वन क्षेत्रको लामो अनुभव बटुल्नुभएका सहसचिव राजेन्द्र केसीका अनुसार वनको आम्दानीसँग जीविकाको सम्बन्ध टुट्दै गएको हुँदा सामुदायिक वनको महìव पनि घट्दै छ । अर्कोतिर राष्ट्रिय विकासका कतिपय विषयमा वनजङ्गल प्रयोगको नीति कतिपय सम्बन्धमा लचिलो हुनुपर्ने र कतिपय विषयमा भने वनको संरक्षणले प्राथमिकता पाउने गरी नै मापदण्ड बनाई लागु गर्न राजनीतिक तथा प्रशासनिक दुवै नेतृत्वले ढिलाइ गर्नु हुँदैन । 

चीनको विकास हुनुमा जनपक्षीयता

चीनमा जनतासँग नजिक रहेर राजनीतिक परामर्श गर्ने प्रयोजनका लागि क्रियाशील संयन्त्र छ, जसलाई छोटकरीमा सिपिपिसिसी भनेर चिनिन्छ । यस्तो खालको जनतासँगको राजनीतिक परामर्श सम्मेलन हरेक दुई हप्तामा एक पटक सञ्चालन हुन्छ । यस्तो भेला वा सम्मेलनमा तत्काल महìवपूर्ण रहेका विषयमा सरोकारवालाबिच प्रश्नोत्तर र विचार आदानप्रदान हुने गर्दछ । तत्काल राजनीतिक नेतृत्व र सरकारले जनतासँग सम्बन्ध राख्ने यो राजनीतिक काइदा जनपक्षीय कदम हो । मानव कल्याण एवं नागरिक बासिन्दाको हितका लागि निरन्तर लागिपर्ने इमानदार नेताले मात्र ऐतिहासिक जिम्मेवारी पूरा गर्न सक्छ भन्ने चिनियाँ नेतृत्व पङ्क्तिमा विश्वास रहेको देखिन्छ । 

सिद्धान्तमा रहने लोकतन्त्रका मिठा कुराले मात्र जनताका जल्दाबल्दा समस्या समाधान गर्दैन । यसका लागि त यथार्थमा काम गरेर देखाउने खालको लोकतन्त्र आवश्यक पर्दछ । चीनले कामकै आधारमा आफ्ना सबै जनतालाई गरिबीको रेखाबाट माथि ल्याउन सक्षम भएको छ । पार्टीले आफ्नो मिसनका रूपमा जनताको सेवा गर्ने भनेर उद्घोष गरेको छ । त्यस्तै जनताको जिउज्यान र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने विषय कोभिड–१९ का समयमा समेत प्रयोगमा ल्याइयो । त्यस्तै जनता वा नागरिकमा रहेको सबल पक्षलाई शासन सञ्चालनको समेत मुख्य आधार बनाइने भनिएको छ । त्यस्तै जनताको आर्थिक सामाजिक हितमा निरन्तर रूपमा काम गर्नका लागि जिम्मेवार सबैलाई आग्रह गरिन्छ । सर्वसाधारणसँगको दुःखसुखको साथी हुनुपर्ने तथा उनीहरूसँग टाढा रहने वा निरपेक्ष रहने जुनसुकै प्रवृत्तिहरू परास्त गर्नुपर्ने भनिएको छ । 

आधुनिक चीन विकासको प्रारम्भकर्ता भनेर चिनिने देङस्यायोपिङको एउटा भनाइ “बिरालो कालो होस् वा सेतो तर त्यसले मुसा भने मारेकै हुनु पर्दछ ।” यो भनाइले वास्तवमा काम रोकेर वा जालझेल गरेर हैन, कामलाई अगाडि बढाएर नै प्रगति हुने हो भन्ने एउटा फराकिलो सन्देश दिन्छ । विकासका लागि राजनीति गर्ने र राजनीतिक अगुवाहरू नै काममा होमिने उनीहरूको संस्कारबाट सिक्नुपर्ने धेरै कुरा छन् । चीनको औपचारिक राजनीतिक संयन्त्रमा सबभन्दा तल गाउँलेको समिति र सहरमा बासिन्दाको समिति प्रयोगमा छ । विगतमा भएका तितामिठा घटनाबाट पाठ सिक्दै आफ्नो देशवासीका समस्या बुझ्नमा उनीहरू अगाडि देखिन्छन् । 

बस्तीलाई एपार्टपेन्टमा बदल्दा होस् वा स्थानीय स्तरमा औद्यौगिकीकरण गर्दा नै किन नहोस्, उनीहरूले कम भूमिमा धेरै उत्पादन हुने र स्थानीयवासीको जीवनस्तर उच्च बनाउने तरिकालाई महत्व दिन्छन् । ग्रासरुटमा रहेर जुनसुकै क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरू पार्टीको केन्द्रीय समितिमा मनोनीत हुने वा निर्वाचित हुने सम्भावना बढी छ अनि मुलुकले उसको क्षमताको सदुपयोग गर्ने र उसका राम्रा कामको स्वाद अन्य स्थानीयवासीसमक्ष पु¥याउने सम्भावना पनि । 

उच्च गुणस्तरको वृद्धिका लागि जनकेन्द्रित सिद्धान्त आवश्यक पर्ने देखिन्छ । विकास र प्रजातन्त्रले जनताको आवश्यकता पूर्ति गर्न सक्नु पर्दछ । सर्वसाधारणको जीवनमा गुणस्तर थप गर्दैन भने आर्थिक वृद्धिको कुनै अर्थ रहँदैन । खुसी जीवन बिताउने जनताको अपेक्षा पूरा गर्नु हाम्रो ध्येय हो भनेर राष्ट्रपति पिङले भनेका छन् । यसका साथै सार्वजनिक पदाधिकारीहरू मेहनती र अनुशासित हुनुपर्ने कुरामा पनि वर्तमान राष्ट्रपतिको विशेष जोड छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय कङ्ग्रेसमा उनले भनेका थिए कि असन्तुलित र अपर्याप्त विकास तथा जनताका निरन्तर बढ्दै गएका अपेक्षाबिचको विरोधाभासको सामना गर्नु परेको छ । सर्वसाधारणका भौतिक र सांस्कृतिक माग पूरा गर्दै सबै चिनियाँ जनतालाई गुणस्तरीय जीवन जिउने वातावरण तयार पार्नका लागि शासकीय व्यवस्थाको आधारभूत आदर्शका रूपमा जनताकेन्द्रित विकासको अवधारणा परिमार्जित रूपमा सी चिनफिङले अघि सारेका हुन् । बृहत् रूपमा हेर्दा चिनियाँ अर्थतन्त्रले खुला, समावेशी, स्वच्छ र सुन्दर विश्व बनाउँदै दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धि हासिल गर्न सुधारिएका उत्पादन सेवा र फराकिलो बजारलाई बढावा दिएको छ । यसरी चीनले अपनाएको जनपक्षीय विकासको मोडेल पूर्वीय मान्यता र ज्ञानमा आधारित ‘सर्वे भवन्तु सुखिनः’ को दर्शनसँग मिल्ने देखिन्छ । 

अन्त्यमा

खुसी जीवन मानव मात्रको साझा हक हो । यसलाई जो कसैले खोस्न सक्दैन । यदि न्यायका लागि कुनै व्यवस्था गरिएको छ र जनताको हितमा प्रयोग भएको छ भने त्यो टिक्न सक्छ । खुसी र समृद्धि भनेको राष्ट्रिय विकासको परिणाम हो र खास गरी यो त जनताको छनोट पनि हो । प्रयोग गर्ने शैलीका आधारमा सरकार वा सरकारी निकाय केन्द्रित वा जनकेन्द्रित गरी दुई मुख्य मोडेल प्रयोगमा आउन सक्छन् । जनता आफैँमा सङ्गठित हुँदैनन् । कुनै खालको भिजन र खाकाका आधारमा जनतालाई सङ्गठित गर्ने गरिन्छ । राजनीतिक पार्टीका रूपमा वा कुनै सामुदायिक संस्थाका रूपमा जनताका मुद्दा बहसमा आउने गर्दछन् । सोच र दर्शनको व्यवहारमा कार्यान्वयनबाट मात्र एकता र ठुलो लक्ष्य हासिल हुन्छ । यो त सामाजिक सांस्कृतिक क्रान्तिको विषय पनि हो । विगतबाट सिक्दै नेपाली परिवेशमा उपयुक्त हुने जनकेन्द्रित विकास मोडेललाई परिष्कृत गर्दै अगाडि बढ्नु नै श्रेयस्कर हुन्छ । 

Author

नेत्र सुवेदी ‘प्रयास’