• २० वैशाख २०८१, बिहिबार

कृषि आधुनिकीकरण परियोजनाले उत्पादन बढ्यो

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख ४ गते । बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गर्दा किसानको उत्पादन बढ्दै गएको पाइएको छ ।परियोजना प्रभावकारी बन्दै गएपछि किसानको उत्पादन र आम्दानी दुवै बढ्दै गएको हो । परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँपालिकालगायतका पालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवनस्तरमा सुधार आएको गाउँपालिकाले जनाएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकका अनुसार उक्त कार्यक्रमबाट तरकारी खेती गरेका किसान क्रमशः आत्मनिर्भर बन्न थालेका छन् । सो परियोजनामार्फत किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेको तरकारी तथा फलफूलको माग बाँके जिल्लामै उच्च रहेको पाइएको छ ।

पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताउनुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्थानीय किसानको जीवनस्तर उकास्न ठुलो सहयोग गरिरहेको बताउनुभयो ।

भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने जिकिर अध्यक्ष विकले गर्नुभयो । 

कृषि क्षेत्रको विकासका लागि खजुरा गाउँपालिकाले विशेष रणनीति अनुसार काम गर्दै आएको छ । पालिकाका अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्रमशः खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेट क्षेत्रका रूपमा परिचित हुँदै गएको छ ।

खजुरा गाउँपालिका–३, बी गाउँका कृषक राजकुमार गुरुङले आफूहरूले गरेको तरकारी खेतीबाट उत्पादित तरकारीलाई बजारको कुनै समस्या नरहेको बताउनुभएको छ ।

उहाँले तरकारी नेपालगन्जसम्म पुर्‍याउन केही समस्या भए पनि बजारको कुनै चिन्ता नरहेको बताउनुभयो । पछिल्लो समयमा बाँकेमा राम्रो तरकारी उत्पादन भइरहे पनि नेपालगन्जका ठुला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा स्थानीय कृषक मर्कामा परेको अधिकांश किसानको गुनासो छ । 

खजुराकै अर्का किसान रमेश थापाले ठुला व्यापारीले भारतबाट ठुलो मात्रामा तरकारी ल्याउँदा स्थानीय तरकारीले भाउ नपाउने र थोक व्यापारीले लिन नमान्दा किसानले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । तरकारी खेतीमा लागेका विभिन्न कृषि समूहलाई कृषि ज्ञान केन्द्र, कतार च्यारिटी नेपाललगायतका अन्य सङ्घसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।