• १३ साउन २०८१, आइतबार

मौरीपालनमा कर्णालीका किसानको बढ्दो आकर्षण

blog

कृषक सावित्री ढकालको पदमपुरमा रहेको नितेश कृषि फार्म । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, वैशाख ४ गते  । कर्णालीमा पछिल्लो समय मौरीपालनमा कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । बजारमा स्थानीय महको माग बढ्न थालेपछि मौरीपालन व्यवसायप्रति मोह बढ्दै गएको हो । वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेतालका रामप्रसाद पोखरेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आइरहनुभएको छ । ८२ वर्षीय रामप्रसादले १५ वर्ष पहिलेदेखि नै मौरी पाल्न थाल्नुभएको हो । पहिला उहाँलाई मौरीपालनबाट आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वास थिएन । पछिल्लो समय मौरीपालनबाट उहाँले लोभलाग्दो आम्दानी गर्न थाल्नुभएको छ ।

उहाँले मौरीपालनबाटै घरव्यवहार चलाउनुका साथै वार्षिक केही रकम बचत गर्ने समेत गर्नुभएको छ । “मैले मौरीपालनबाटै वार्षिक करिब पाँच लाख कमाउँछु,” पोखरेलले भन्नुभयो, “महको माग बढ्दै गएको हुनाले घारहरू पनि थप्दै गएको छु ।” उहाँले फुर्सदको केही समय मात्र मौरीलाई दिए पुग्ने बताउनुभयो । पोखरेलको घरमा आहिले करिब ५४ भन्दा बढी आधुनिक घारमा मौरीहरू रहेका छन् । उहाँको व्यावसायिक मौरीपालन देखर गाग्रेतालमा मौरीपालन गर्नेको सङ्ख्यासमेत बढिरहेको छ ।

वीरेन्द्रनगर–११ कै गोविन्द तिमल्सेनाले पनि मौरीपालन गर्दै आउनुभएको छ । १० वर्षपहिलेबाट व्यावसायिक रूपमा मौरीपालन गर्दै आउनुभएका उहाँले प्रतिभा कृषि तथा पशुपन्छी फार्म दर्ता गर्नुभएको छ । तिमल्सेनाले मौरीपालन गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । “बिहान बेलुका फुर्सदकै मेहनतले मौरी पाल्न सकिदो रहेछ,” उहाँले भन्नुभयो, “मौरीबाट वार्षिक पाँचदेखि छ लाखसम्म आम्दानी हुन्छ ।” महसँगै मौरीका घार पनि बेच्ने गरेको उहाँले सुनाउनुभयो । “प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले मौरीपालन गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रँदा रैछन् ।” उहाँले हिजोआज गाउँठाउँमा घुम्दा सम्भावित ठाउँमा मौरीपालनका लागि अनुरोध गर्ने गरेको समेत बताउनुभयो । उहाँका ४० वटा मौरीका आधुनिक घार छन् ।

वीरेन्द्रनगर नगरपालिका–१२, पदमपुरकी सावित्री ढकाल दैनिक मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । २०६५ सालमा चार वटा घारबाट मौरी पाल्न सुरु गरेकी उहाँलाई १५ वर्षको बिचमा व्यावसायिक मौरीपालक किसानको रूपमा सबैले चिन्न थालेका छन् । २०६६ सालतिर मौरीपालनसम्बन्धी तालिम लिनुभएको थियो । “मेरा मौरीपालनसम्बन्धी थुप्रै जिज्ञासाहरू थिए,” उहाँले भन्नुभयो, “जुनबेला मैले तालिममा सिकेकी थिएँ, त्यही सिकाइमार्फत मौरीपालनमा लाग्ने योजना बनाएँ ।” मौरीपालनबाट नै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ्, सावित्री । जति धेरै गर्न सकियो त्यति नै आम्दानी हुने उहाँको अनुभव छ । उहाँका १५० मौरीका आधुनिक घार छन् । वर्षमा १२ लाख बढीको मह उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले बताउनुभयो । उत्पादनसँगै त्यसमा प्रशस्तै मेहनत र खर्च पनि हुने गरेको उहाँको भनाइ छ ।

मौरी घारमा पाल्ने र घारमै राख्ने भन्ने हुँदैन । मौरी किनेर घारमा राख्नासाथ मह दिन्छ, त्यसैबाट पैसा कमाउँला भन्ने सोच्यो भने त्यो बुझाइ गलत हुन जान्छ । मौरी पाल्ने किसानले फरक मौसम फरक समय अनुसार विभिन्न ठाउँमा लिने गर्छन् । ढकालले पनि एक वर्षको बिचमा धेरै ठाउँमा मौरी चराउनका लागि लैजाने गरेको बताउनुभयो । 

सुरुमा मौरीपालनमा केही हुँदैन भन्ने मौरीपालक ढकाल अहिले मौरी चराउनका लागि परिवारको सहयोग त लिनुहुन्छ नै, अरू केही कर्मचारी राखेरसमेत रोजगरी दिँदै आउनुभएको छ ।

मौरीपालक कृषकहरू सङ्गठितसमेत भएका छन् । सुर्खेत, दैलेख, जाजरकोट र रुकुमपश्चिम कृषक सङ्गठनमा आबद्ध भएका छन् । चार जिल्लामा गरी तीन हजार पाँच सय मौरीपालक कृषक रहेको सङ्गठनका कर्णाली प्रदेश अध्यक्ष लीलाराम ढकालले बताउनुभयो । उहाँका अनुसार खोपेघार, मुडेघार र आधुनिक घार गरी चार जिल्लामा तीन हजार पाँच सय कृषक आबद्ध भएका छन् । पछिल्लो समय युवा पुस्ता मौरीपालनमा आकर्षित भएको ढकालले बताउनुभयो । “आधुनिक घारमा चार गुणासम्म उत्पादन बढाउन सकिन्छ,” उहाँले भन्नुभयो, “मौरीपालनमा खासै समस्या पनि छैनन् ।” ढकालले थप्नुभयो, “अरूभन्दा मौरीपालनमा थोरै मेहनत पर्ने भएकाले किसानहरू यो पेसामा आकर्षित भएका छन् ।”