• २१ वैशाख २०८१, शुक्रबार

चैतेधान खेतीको आकर्षण बढ्दो

blog

नवलपुरमा चैतेधान रोप्दै किसान ।

मीना कंडेल

कावासोती, वैशाख ३ गते । नवलपुरमा चैते धान उत्पादन गर्ने क्षेत्रफल विस्तार हुँदै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता चैते धान उत्पादन गर्ने किसान बढेसँगै क्षेत्र पनि बढ्दै गएको हो । 

जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा यस वर्षको चैते धान रोपाइँ सकिएको छ । गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा चालू आर्थिक वर्ष २०८०-८१ मा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । दुई वाली धान लगाउँदा एक बालीको धान विक्रीमा राम्रो आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका छन् । चैतेधान लगाउने किसानलाई सिँचाइ, मल तथा बिउँमा अनुदान उपलब्ध गराइने भएकाले पनि यसतर्फ आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले यस वर्ष करिब एक सय पाँच हेक्टर क्षेत्रफल बढेको बताउनुभयो । वर्षे धानको भन्दा चैतेको उत्पादन बढी हुने भएकाले पछिल्ला तीन वर्षमा किसान यो खेतीमा आकर्षित भएको काफ्लेको भनाइ छ । चैतेधान बिक्रीमा त्यति समस्या छैन, चिउरा बनाउन तथा खानसमेत चैतेधान प्रयोग हुन्छ उहाँले भन्नुभयो, “वर्णशङ्कर जातका धानको गुणस्तर बढेकाले पनि किसान चैतेधान खेतीमा आकर्षित हुनेक्रम बढ्दो छ । ”

सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन् । चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ। कृषि ज्ञान केन्द्र नवलपुरका कृषि वालि विज्ञ सञ्जय ढकालले जिल्लामा गत आर्थिक वर्षमा छ हजार एक सय २३ मेट्रिक टन चैते धानको उत्पादन भएको बताउनुभयो । अहिले क्षेत्रफल वृद्धि भएकाले छ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको बताउनुभयो ।

केही वर्ष पहिले खोलाको कुलोबाट सिँचाइ गरेर खेती गरिने भएपनि अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको हुनाले पनि चैते धानतर्फ किसानको सङ्ख्या बढ्न थालेको उहाँको भनाइ छ । कतिपय स्थानमा किसानले एउटै धानको बिउँ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको वालि विज्ञ ढकालले बताउनुभयो ।

जिल्लामा चैतेधानको रूपमा चैते–५, टाइचिन, हर्दिनाथ–१ र स्थानीय जातका धानको बीउ लगाउने गरिएको छ । जिल्लाको भौगोलिक अवस्था अनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।