रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३ गते । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क अहिले आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । रेसुङ्गा गर्जुरामा अवस्थित पार्क अवलोकनका लागि पुग्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो ।
केही संरचना तयार गर्न बाँकी रहेकाले पार्कको औपचारिक उद्घाटन हुन भने बाँकी छ । गत माघ १० गतेबाट रेसुङ्गा नगरपालिकाले पार्कको सञ्चालनका लागि कर्मचारी खटाएको छ । अहिले पार्क सञ्चालनबाट राजश्व समेत सङ्कलन हुँदै आएको छ । पार्क सञ्चालन भएदेखि हालसम्म तीन लाख बढी राजश्व सङ्कलन भएको छ । नगरपालिकाले कर्मचारी खटाएर पार्क अवलोकनका लागि टिकट प्रणाली लागु गरेको छ ।
पार्क प्रवेश शुल्क विदेशी नागरिकको लागि १०० रुपियाँ, नेपाली नागरिकको लागि ४० रुपियाँ र ज्येष्ठ नागरिक साथै विद्यार्थी र १५ वर्ष मुनिका बालबालिकाका लागि २० रुपियाँ टिकट कायम गरिएको छ । जसअनुसार सञ्चालनको छोटो समयमै तीन तीन लाख ५७ हजार ३ सय ४० रुपियाँ राजश्व सङ्कलन भएको हो ।
रेसुङ्गा पार्कका कर्मचारी नवीन कुँवरका अनुसार ४० रुपियाँको टिकट काटेर ६८ सय ४२ जनाले अवलोकन गरेका छन् । जसबाट दुई लाख ७३ हजार ६८० रुपियाँ राजश्व सङ्कलन भएको छ । भने २० रुपियाँको टिकट काटेर चार हजार १८३ जनाले पार्क अवलोकन गरेका छन् । जसबाट ८३ हजार ६६० रुपियाँ सङ्कलन भयो ।
पार्कमा एक जना कर्मचारी, एक जना नगर प्रहरी र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई जनालाई खटाइएको छ । नयाँ वर्षको दिन वैशाख १ गते दुई हजार ३८२ जनाले पार्क अवलोकन गरेका छन् । जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले गर्जुरामा रेसुङ्गा पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाएर रेसुङ्गा र तम्घास बजार चहलपहल बढाउने रेसुङ्गा नगरपालिकाले लक्ष्य लिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पार्क निर्माण गरिएको हो । पार्क क्षेत्र ३।९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका लागि प्लेजोन, पिकनिक स्पोर्ट, शौचालय, टिकट काउन्टर लगायतका संरचना निर्माण गरिएको छ । जसले पार्कको सौन्दर्यता बढाएको छ ।