• २१ वैशाख २०८१, शुक्रबार

इलाममा उत्पादित कृषि उपज पोखरामा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ३ गते । इलाममा उत्पादित र नगरपालिकाले प्रवर्धन गरेको कृषि उपज सामग्री पोखरामा बिक्री भइरहेको छ । नयाँ वर्ष २०८१ बाट सो सामग्री विक्री गर्न थालिएको हो ।  

पहिलो चरणमा इलामका २० प्रकारका खाद्यान्न कोसेलीका रुपमा यहाँका  उपभोक्तामाझ पुर्‍य ाइएको मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घको कृषि प्रवर्धन समितिको सामाजिक उत्तरदायित्वसहितको व्यवसाय अन्तर्गत खुलेको मुना बजारले ६ शाखाबाट दुई हजार दुईसय थरीका कृषि उपज उपभोक्तामाझ पुर्‍य ाएको जनाएको छ ।  

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्यमशीलताको विकास इलामबाट सिक्नुपर्ने बताउनुभयो । “इलामको कृषि उत्पादनले दुबै पालिकाका जनतालाई सांस्कृतिक रुपमा एककार हुन सहयोग पुग्नेछ । हामी पनि जेठोबुढो धान, खुदो, हेम्जाको आलुलगायतका उत्पादन ब्रान्डिङमा लागेका छौँ” उहाँले भन्नुभयो । 

दुबै पालिकाबिच भगिनी सम्बन्ध कायम गरी कृषि उत्पादन आदानप्रदान गर्न उहाँले प्रस्ताव गर्नुभयो । कार्यक्रममा सहभागी हुन पोखरा आइपुग्नुभएका इलाम नगरपालिकाका उपप्रमुख विष्णुकुमारी लिम्बू इलामको कृषि उपजले पोखरा बजारमा राम्रो स्थान पाउने विश्वास व्यक्त गर्नुभयो । 

किसानले उचित मूल्य नपाउने र बिचौचियाले फाइदा लिने परिपाटीको अन्त्य गर्दै इलामले कृषि क्षेत्रमा यथाशक्य बजेट बढाउने उहाँको भनाइ छ । “तपाईहरु पोेखरामा इलामेउपजको प्रचार, प्रवर्धन र बिक्री गर्नुस्, म इलाममा पोखरेली सामग्रीको प्रवर्धन गर्छु” उहाँले भन्नुभयो । 

इलाम नगरपालिकाले ललिपप, कुराउनी, मिठाइ, छुर्पी, पुष्टकारी, घिउ, नौनी, चिज, चिया, अलैंची, बेसार, मकैलगायतका कृषि उपजको प्रवर्धन गरिरहेको छ । मुना कृषि लिमिटेडले उत्पादन गरेका सामग्री किसान बजार बिरौटामा बिक्रीका लागि राख्न लिमिटेड र पोखरा महानगरपालिका आर्थिक महाशाखाबिच सम्झौता भएको छ ।

आर्थिक महाशाखाका प्रमुख मनोहर कडरिया उत्पादनलाई बजारसँग जोड्न सके स्थानीय किसान संरक्षित हुने बताउनुहुन्छ । पोखरा महानगरले ३७ कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी सो बराबरको रकम नपाएका किसानलाई रकम उपलब्ध गराउने गरेको छ ।