चितवन समाचारदाता
चितवन, वैशाख ३ गते । आर्थिक मन्दीका कारण समस्या भोगिराखेका चितवनको व्यवसायमा तीन महिनायता सुधारोन्मुख अवस्था भएको पाइएको छ ।
अङ्ग्रेजी नयाँ वर्षदेखि चैत महिनाको अन्तिमसम्म जिल्लामा भएका गतिविधि र त्यसपछि भएका प्रभावले अर्थतन्त्रमा सुधारको अवस्था आएको चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडअगाडिको अवस्था जस्तो भएको छैन, तीन महिनायता सुधारतर्फ गएको छ ।” चितवनमा राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना भएका छन्, मेला महोत्सव, प्रदेशस्तरीय खेलकुद, एक्स्पोलगायतका कारण चितवनका होटलहरू भरिएका छन् । यसले यहाँको बजारमा आर्थिक रूपले सकरात्मक प्रभाव पारेको हामीले पाएका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार भरतपुर क्षेत्रमा २० प्रतिशत र पश्चिम चितवनमा ६० प्रतिशत होटलको बुकिङ वृद्धि भएको छ । अध्यक्ष चुकेले भन्नुभयो, “होटलमा आएका पर्यटकले यहीको बजारमा आर्थिक प्रभाव पार्ने गर्छ । मेला महोत्सव तथा एक्स्पो नभएको अवस्थामा अहिले ती गतिविधि भएका छन् । होटल व्यवसायका लागि अहिले निराशा होइन आशा पलाएको छ । पर्यटक पाउन मुस्किल भएका होटलमा अहिले भरिन थालेको छ, यसले उत्साहित बनाएको छ ।
तीन महिनामा एक दर्जन ठुला कार्यक्रम भएका छन् । अन्तरप्रदेश खेलकुदमा मात्रै पाँच हजार खेलाडी एक हप्ताभन्दा धेरै भरतपुर बसेका छन्, पर्यटनविज्ञ विश्वराज सुवेदीले भन्नुभयो । “यहाँ आयोजना भएका एक कार्यक्रममा कम्तीमा दुईदेखि तीन हजारबाहिरका व्यक्तिहरू सहभागी भएका छन्,” सुवेदीले भन्नुभयो, “ती व्यक्तिले यहाँको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।” भरतपुरको प्रदर्शनी स्थलमा आइटीसहितको वैशाखमा दुई वटा र जेठमा एउटा प्रदर्शनी आयोजना हुँदै छ यसले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।