• २६ वैशाख २०८१, बुधबार

वडा कार्यालय भवनको शिलान्यास

blog

वडा कार्यालय भवनको शिलान्यास गर्दै । तस्बिरः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख २ गते । धनुषाको मिथिला नगरपालिका–१, लक्ष्मीनिवासको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । आइतबार वडाध्यक्ष जोगी महतो र पूर्व वडाध्यक्ष लक्ष्मी महतोले संयुक्त रूपमा कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

वडा कार्यालय निर्माणका लागि पूर्व वडाध्यक्ष लक्ष्मीले करिब २५ लाख रुपियाँ मूल्य बराबरको एक कठ्ठा जग्गा प्रदान गर्नुभएको छ । 

मिथिला नगरपालिकाका इन्जिनियर गणेश महतोले नगरपालिकाको विकास बजेटबाट भवन निर्माण गरिने बताउनुभयो । पाँच कोठे भवन निर्माणका लागि नगरपालिकाले ५० लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एसएनआर निर्माण कम्पनीले २६ लाख रुपियाँमा ठेक्का कबुल गरेको उहाँले जानकारी दिनुभयो । 

वडाध्यक्ष जोगीले भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडा कार्यालयबाट सेवा प्रवाह गर्न कठिनाइ भइरहेको बताउँदै वडा कार्यालयको आफ्नै भवन निर्माणपछि सेवा प्रवाह सुलभ र सहज हुने बताउनुभयो । चालू आर्थिक वर्षभित्र कार्यालय भवन निर्माण हुने उहाँले बताउनुभयो ।