• १३ साउन २०८१, आइतबार

पोखरामा बक्यौता कर उठाउन समिति

blog

सन्तोष सुवेदी
कास्की, वैशाख २ गते । 
पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ । महानगरपालिकाको २८ औँ कार्यपालिका बैठकबाट महानगरका प्रवक्ता मोतीराज तिम्सिनाको संयोजकत्वमा सटर कवल बहाल बक्यौता असुली अध्ययन समिति गठन गरेको हो ।

समितिको सदस्यहरूमा वडा नम्बर ७ का वडा अध्यक्ष राम मोहन आचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी र वडा नम्बर १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगी रहनुभएको छ भने समितिको सदस्य सचिवमा महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया रहनुभएको छ ।

समितिलाई महानगरको स्वामित्वमा रहेका सटरहरूको अवस्था, बहाल रकम असुलीको अवस्था र बक्यौता समेतको अध्ययन गरी प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पछिल्लो समय महानगरको स्वामित्वमा रहेका सटरहरूका विषयमा सार्वजनिक रूपमा गुनासो आएकाले यथार्थ अवस्था पत्ता लगाई यसलाई नियमन तथा निगरानी गर्नुपर्ने भएकाले अध्ययन समिति गठन गरिएको प्रमुख आचार्यले बताउनुभयो ।

यस्तै, महानगरपालिकाले २०७५ सालदेखि उठ्न बाँकी बक्यौता राजश्वका विषयमा अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । वडा नम्बर । २२ का वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा गठित समितिको सदस्यमा महानगरको सुशासन समितिका संयोजक समेत रहेका वडा नम्बरका वडा अध्यक्ष देवकृष्ण पराजुली, वडा नम्बर २० का वडा अध्यक्ष गङ्गा बहादुर के.सी र एक चार्टर एकाउन्टेन्ट तथा सदस्य सचिवमा महानगरको सूचना अधिकारी तथा उपसचिव कृष्ण तिवारी रहनु भएको छ ।

समितिलाई समग्र महानगरपालिकाको कार्यक्षेत्र भित्र २०७५ सालदेखि हालसम्म राजश्व सङ्कलनको अवस्था, बक्यौता असुल उपरको अवस्था र राजश्व सङ्कलनमा भए/गरेका समस्याहरूको बारेमा अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । समितिलाई २ महिना भित्र समग्र अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यपालिकामार्फत कार्यादेश दिइएको नगरप्रमुख आचार्यले बताउनुभयो ।