• २३ वैशाख २०८१, आइतबार

बन्दैछन् खेल पूर्वाधार

blog

हुम्लामा हकी खेलमैदान निर्माणका लागि पूर्वाधार तयार पारिँदै । तस्बिर : रजनी योगी

 रजनी योगी

सुर्खेत, वैशाख २ गते । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि खेल पूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा २०८१ मङ्सिर २ मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसका लागि आवश्यक पूर्वाधारको तयारी धमाधम भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण भइरहेका छन् ।

दैलेखमा कभर्ड हल मर्मतको काम भइरहेको छ । उपभोक्ता समितिमार्फत मर्मतको काम गरिएको छ । २०८० माघ ९ गते ठेक्का सम्झौता भइ काम अघि बढेको समितिका संयोजक भेषराज भण्डारीले बताउनुभयो । १३ लाख ८२ हजारमा २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, हुम्लामा हकी खेलमैदान निर्माणको काम सुरु भएको छ । समुन्द्र निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाएको जिल्ला खेलकुद विकास समिति हुम्लाका अध्यक्ष विनोद बोहोराले बताउनुभयो । २०८० फागुन ६ गते खेलमैदान निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असार २० गते निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको बोहोराले जानकारी दिनुभयो । एक करोड ५० लाखमा हकी खेलमैदान निर्माण हुनेछ । अहिले मैदान सम्माउने काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिबल खेल मैदान तथा प्याराफिट निर्माणको काम थालिएको छ । हिरा नेपाल निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ । २०८० पुस ५ गते मैदान निर्माणका लागि ठेक्का सम्झौता गरिएको समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताउनुभयो । ४० लाखमा मैदान निर्माण हुनेछ । २०८१ वैशाख १ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले मैदान निर्माणको काम धमाधम भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

रूकुमपश्चिममा पनि कभर्ड हल मर्मतको काम थालिएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका काम भइरहेको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमले जनाएको छ । २०८० माघमा ठेक्का सम्झौता गरी मर्मतको काम सुरु गरिएको समितिका अध्यक्ष शैलेश शर्माले बताउनुभयो । मुसिकोट कभर्डहल मर्मतको काम उपभोक्ता समितिमार्फत भइरहेको उहाँले जानकारी दिनुभयो । १५ लाखमा कभर्ड हल मर्मतको काम गरिनेछ ।

वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला निर्माण कार्य सुरु भएको छ । चार करोड ५९ लाख लागत रहेको संरचना निर्माणको जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । २०८० चैत ५ गते अभियान कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता गरिएको परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताउनुभयो । २०८१ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कालिञ्चोक क्रिकेट मैदानको ८० प्रतिशत काम सम्पन्न
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको ८० प्रतिशत काम सकिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । २०८० चैत ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । अब २० प्रतिशत काम बाँकी रहेको परिषद्का सदस्य सचिव सञ्ज्याल बताउनुहुन्छ ।

कालिञ्चोक क्रिकेट मैदानको निर्माण अवधि सकिन १८ दिन मात्र बाँकी छ । मैदान निर्माणका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच निर्माण सम्झौता भएको थियो । ७३ लाख १८ हजार लागतमा निर्माण भइरहेको खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने काम करिब सकिएको छ । अब दुबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम मात्र बाँकी रहेको जनाइएको छ ।

प्रदेश रङ्गशालाको ७० प्रतिशत काम सकियो
वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशाला निर्माणको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ३० करोड बजेट कार्यान्वयन भएको छ । अब रंगशालाको ३० प्रतिशत काम मात्र बाँकी रहेको छ । निर्माणाधीन प्रदेश रङ्गशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । उक्त रंगशालामा फुटबल मैदान, भलिवल कभर्ड हल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् ।

त्यस्तै, भीआइपी प्याराफिटको दुई तले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ । प्रदेश रंगशालामै ह्यान्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइनेछ । अहिले विभिन्न पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

खेलकुद विकास परिषद्का अनुसार सुर्खेतबाहेक अन्य जिल्लामा पनि खेलपूर्वाधार धमाधम बनिरहेका छन् । जाजरकोट कभर्डहल निर्माणको बहूवर्षीय खरिद स्वीकृत प्रक्रिया अघि बढेको छ । कालीकोट कभर्डहल निर्माण प्रक्रियाको काम समेत अघि बढेको जनाइएको छ । कभर्ड हल मर्मतका लागि बहुवर्षीय खरिद स्वीकृत प्रक्रियाको काम अघि बढेको खेलकुद परिषद्को भनाइ छ ।

यसैगरी मुगु जिल्लामा कबड्डी मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेल मैदानको प्रयोग गर्नेगरी जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण थालिएको हो । ती मैदानहरूलाई विकल्पको रूपमा राखिनेछ । वैकल्पिक मैदानहरूमा खेल तालिका अनुुसार प्रयोगात्मक खेलहरू हुनेछन् ।

प्रदेशमै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएपछि कर्णालीलाई अनुुभवको पनि अभाव छ । भौगोलिक विकटताले गर्दा सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौती छन् । यद्यपि, परिषद्ले पूर्वाधारको अभावकै कारणले खेलकुद प्रतियोगिता नरोकिने जनाएको छ ।