• ८ जेठ २०८१, मङ्गलबार

कालोपत्रे भएपछि राहत

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २ गते । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सर्लाहीको बबरगन्जदेखि भेल्हीसम्मको सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दा र यात्रुले राहत पाएका छन् । फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत पर्ने बबरगन्ज–भेल्ही खण्ड लामो समयसम्म अलपत्र अवस्थामा रहँदा सडक छेउछाउ घर भएका स्थानीयवासी र यात्रुले हिउँदयाममा धुलो तथा वर्षायाममा हिलोको सास्ती खेप्दै आएका थिए । अहिले भने उक्त सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्याबाट मुक्ति मिलेको स्थानीयले बताएका छन् । 

फूलजोरदेखि बयलबाससम्म र बयलबास बजारबाट केही दक्षिणदेखि बबरगन्जसम्मको सडक यसअघि नै कालोपत्रे भइसकेको थियो । ईश्वरपुर नगरपालिकास्थित बयलबास बजार क्षेत्रमा भने राजनीतिक टकराबका कारण सडक कालोपत्रे हुन सकेको छैन । पूर्वपश्चिम हुलाकी सडकदेखि दक्षिण त्रिभुवननगरस्थित नेपाल–भारत सीमासम्मको सडक कालोपत्रे हुन सकेको छैन । त्यहाँ तीन ठाउँमा विवाद रहेकाले सडक कालोपत्रे गर्न नसकिएको हुलाकी सडक आयोजना जनकपुरले जनाएको छ । 

हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्ण महतोले २३ किलोमिटर फूलजोर–त्रिभुवननगर सडकमध्ये २१ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । “भेल्हीदेखि दक्षिण एक ठाउँमा ‘स्टे अर्डर’ र गाउँभित्र दुई ठाउँमा विवाद भएकाले काम हुन सकेको छैन, बयलबास बजारमा पनि राजनीतिक विवादले समस्या पारेको छ,” सडक कार्यालयका प्रमुख महतोले भन्नुभयो, “विवादित यी ठाउँमा असारसम्ममा कालोपत्रेको काम पूरा गर्ने गरी लागिपरेका छौँ ।”

बबरगन्ज–भेल्ही सडक कालोपत्रे भएसँगै सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्न अत्यन्त सहज भएको चन्द्रनगर गाउँपालिका–४, पोखरीयाका इन्दल माझीले बताउनुभयो । माझीले भन्नुभयो, “वर्षौंको प्रतीक्षापछि बल्ल सडक कालोपत्रे भयो, हामीलाई त ठुलो राहत मिलेको छ ।”माझीले सडक कालोपत्रे भएपछि पहिले जस्तो सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्दा सास्ती खेप्नु नपरेको भन्दै खुसी व्यक्त गर्नुभयो । ईश्वरपुर, चन्द्रनगर र ब्रह्मपुरीसहित अन्य पालिकाका स्थानीय यसअघि यो सडक भएर यात्रा गर्दा धुलोले बिरामी नै पर्ने गरेका थिए । 

बबरगन्ज–भेल्ही सडकसँगै सर्लाहीमा वर्षौं अलपत्र परेको पूर्वपश्चिम हुलाकी सडक पनि भर्खरै कालोपत्रे भएको छ । हुलाकी सडकको अब सदरमुकाम मलङ्गवास्थित राजश्री चोकदेखि टावर चोकसम्मको सडक मात्रै कालोपत्रे हुन बाँकी छ । 

हुलाकी सडक आयोजनाले मलङ्गवामा ‘साइड क्लियर’ को विवाद समाधान गरेर असारसम्ममा कालोपत्रेको काम पूरा गरिने दाबी गरेको छ । मलङ्गवाको यो दुई किलोमिटर खण्डबाहेक पूर्वपश्चिम हुलाकी सडक पनि धुलोमुक्त बन्दा यात्रामा निकै सहजता आएको स्थानीय बासिन्दा तथा यात्रुले बताएका छन् ।