• २० वैशाख २०८१, बिहिबार

प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन

blog

दिपायल समाचारदाता

दिपायल, वैशाख २ गते । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी आउनुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गर्न लागिएको हो ।

लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उच्च सम्मानका साथ उहाँलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले बताउनुभयो । नागरिक अभिनन्दनका विषयमा आयोजित पत्रकार सम्मेलमा नगर प्रमुख खड्काले प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुग्नुभएको बताउनुभयो । 

उहाँलाई अभिनन्दनका लागि निमन्त्रणा गरिएको जानकारी नगर प्रमुख खड्काले दिनुभएको हो । “न्यायलय क्षेत्रको सर्वोच्च भूमिकामा डोटेली पुत्र पाउनु गौरवको कुरा हो,” नगरप्रमुख खड्काले भन्नुभयो, “डोटेली नागरिकका तर्फबाट उहाँलाई प्रमाणपत्रसहित नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।” दिपायल सिलगढी नगरपालिकाका प्रमुख खड्का र पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायको नेतृत्वमा डोटीस्थित स्थानीय सरकार, नागरिक समाज, नागरिक सङ्घ संस्था र स्थानीयवासीद्वारा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधान न्यायाधीश श्रेष्ठलाई वैशाख २ गते दिउँसो १ बजे शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गरिने आयोजक पक्षले जनाएको छ । विसं २०१६ असोज २० गते कैलालीमा जन्मनुभएका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो । शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।