• २० वैशाख २०८१, बिहिबार

नेपाल भारतबिचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

blog

महेन्द्रनगर (धनुषा), वैशाख १ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपाल-भारतबिचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताउनुभयो ।

नेपाल–भारतबिचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता-जनताबिच रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ ।” सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुनसक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिनुभयो ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिना र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव गीताञ्जलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संस्कृति एवम् अर्थविद् डा.हरिवंश झाले माता जानकी लीला प्रसङ्गबारे चर्चा गर्नुभएको थियो । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन ‘साडी’को प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो । महोत्सवअन्तर्गत आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ । कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो । रासस