• ५ चैत २०८२, बिहिबार

स्कुल बसले किचेर बालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, चैत ५ गते । सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ । 

सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको स्कुल बसले किच्दा सानो डाबरी निवासी श्याम गोलेका छोरा दुई वर्षका यनस गोलेको मृत्यु भएको हो । बिहीबार बिहान ९ बजेतिर विद्यार्थी उठाउन पुगेको बसले किचेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाइलाई बस चढाउन सडकमा निस्किएकी आमासँगै बालक यनस पनि बस रोकिराखेको ठाउँमा पुगेका थिए । सोही बेला विद्यार्थी चढाएर अघि बढेको बसले किच्दा बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

दुर्घटनामा संलग्न बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।