• ५ चैत २०८२, बिहिबार

निर्वाचनमा सहयोग गर्नेलाई सम्मान

blog

महोत्तरीको बर्दीबासस्थित क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रम । तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत ५ गते । महोत्तरी क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय बर्दीबासले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन योगदान गरेको भन्दै १८ जनालाई सम्मान गरेको छ ।

बर्दीबासस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा आज बिहान आयोजित धन्यवाद तथा सम्मान’ कार्यक्रममा लोकतन्त्रको महापर्व मानिने निर्वाचन कार्यमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

धन्यवाद कार्यक्रममा निर्वाचन अधिकृत गगनदेव महतोले नर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाली सेना, इलाका प्रहरी बर्दीबास र सशस्त्र प्रहरीका प्रतिनिधि, बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्री, बर्दीबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का, बर्दीबास खानेपानीका अध्यक्ष भुलन सेन तथा देउराली माविका प्रधानाध्यापक कुमार घिमिरेलाई प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गर्नुभयो ।  

त्यस्तै महोत्तरीका चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पहिले क्षेत्र नंं १ ले विवाद रहित ढङ्गमा निर्वाचनसम्बन्धी सम्पूर्ण दायित्व सफलतापूर्वक पूरा गरेकोमा निर्वाचन कर्मचारीलाई सम्मान गरिएको छ । 

बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले निर्वाचन अधिकृत गगनदेव महतो, सहायक निर्वाचन अधिकृत पृथ्विनारायण साह लगायत ११ जना कर्मचारीलाई खादा ओढाएर प्रशंसापत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा निर्वाचन अधिकृत महतोले यो निर्वाचन सफलता सबैको साझा उपलब्धि भएको बताउनुभयो । सवैको सहयोग र सद्भावले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन शान्तिपूर्णढङ्गमा सम्पन्न गर्न सकिएको धारणा व्यक्त गर्नुभयो । 

बर्दीबास १ स्थित उधोग वाणिज्य सङ्घको कार्यालयमा गत माघ २ गते स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्ष र समानुपातिकतर्फको मतदान, मतगणना र अन्तिम मत परिमाण घोषणासँगै क्षेत्र नं १ को निर्वाचनसम्बन्धि औपचारिक अनौपचारिक सबै काम सम्पन्न भएको जनाइएको छ ।