• २२ वैशाख २०८१, शनिबार

एमाले हुम्लाको अध्यक्षमा तीनको दाबी

blog

एमाले हुम्लाको दशौं अधिवेशनमा सहभागीहरु ।

राजन रावत

हुम्ला, वैशाख १ गते । नेकपा (एमाले) हुम्ला अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार बेलुकाबाट नेताहरूले गरेको सहमतिको प्रयासले सफलता नपाएपछि नेतृत्व चयन प्रक्रिया सुरु भएपछि तीनको उम्मेदवारी परेको हो ।  

दसौँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन कार्य निर्वाचन प्रक्रियामा गएको निर्वाचन मण्डलका संयोजक अमरबहादुर शाहीले जानकारी दिनुभयो । एमाले हुम्लाको अध्यक्ष पदका लागि वर्तमान कावा अध्यक्ष डबल रावत, पूर्व उपाध्यक्ष ज्ञानी बुमी र पूर्णप्रकाश ढकालको उम्मेदवारी दर्ता भएको छ । 

त्यसैगरी उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । सुरेन्द्र कार्की, प्रकाशबहादुर शाही, टेकबहादुर शाही, उब्जन मल्ल र चन्द्रप्रकाश ढकालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सचिव पदमा निवर्तमान सचिव तीर्थराज बोहरा र गोकुल बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

उपसचिवमा प्रदीप लामा, बुध भण्डारी र गिठे ऐडीको उम्मेदवारी परेको छ भने महिला उपसचिवमा विमला शाही र अनेम सङ्घका जिल्ला अध्यक्ष मन्जु रावलले उम्मेदवारी दर्ता गर्नुभएको छ । ८० जना जिल्ला कमिटी सदस्य पदका लागि अधिकांश पदमा उम्मेदवारी परेको छ । संयोजक शाहीले अब केही समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताउनुभयो । सम्भव भएसम्म आज बेलुकासम्म मतदान कार्य सुरु गरिने निर्वाचन मण्डलले जनाएको छ । 

दसौँ जिल्ला अधिवेशनको चैत २९ गते उद्घाटन भएको थियो । चैत ३० गते बन्दसत्र सुरु भए पनि सहमति बन्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन मण्डलका सदस्यहरूको भनाइ छ ।