• १९ वैशाख २०८१, बुधबार

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

blog

तेह्रथुम, वैशाख १ गते । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ-९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो । अहिले प्रतिकिलो दुई सयले बिक्री भइरहेको छ । 

कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख साझेदारीमा म्याङलुङ-९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ । प्रतिकेजी दुई रुपियाँ ५० पैसा प्रतिमहिना भाडा तिरेर माघको अन्त्यतिर शीतभण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ–२ की मेनुकाकुमारी श्रेष्ठले बताउनुभयो ।

“हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो । बिक्री भइहाले पनि ५० किलो व्यापारीले मागिरहेका थिए । अहिले तीन गुणा बढी मूल्य पायो हामी खुसी छौँ,” श्रेष्ठले भन्नुभयो । यसअघि शीतभण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ-२ का मोतीराज तुम्बाहाङ्फे बताउनुभयो । “साथीहरूले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ”, उहाँले भन्नुभयो ।

वि.सं.२०७० मा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीतभण्डार गत सालदेखि सञ्चालित छ । किसानमा शीतभण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीतभण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ । यस वर्ष शीतभण्डारमा किवी तीन हजार किलो, सुन्तला दुई हजार किलो भण्डारण गरिएको छ । अब आलुको बीउ भण्डारणको तयारी भइरहेको व्यवस्थापक लिम्बूको भनाइ छ । हिउँदमा खान पाइने सुन्तला चैत वैशाखमा किनेर खान पाएकोमा स्थानीय उपभोक्तासमेत खुसी छन् । रासस