• ४ जेठ २०८१, शुक्रबार

सप्तरी पत्रकार महासङ्घमा तालाबन्दी

blog

पत्रकार महासंघ सप्तरीको कार्यालयमा तालाबन्दी गर्दै पत्रकार महासंधका पूर्व अध्यक्ष जितेन्द्र खड्गा र पत्रकार सौरभ यादव । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, चैत ३० गते । सदस्यता शुद्धीकरणमा परेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल पत्रकार महासङ्घ शाखा सप्तरी आबद्ध पत्रकारहरुले महासङ्घको कार्यालयमा शुक्रबार  तालाबन्दी गरेका छन् । 

सदस्यता शुद्धीकरण विवादको कारण शाखा सप्तरीले केन्द्रीय समितिले चैत मसान्तसम्ममा शाखा अधिवेशन सक्नुपर्ने निर्णय बमोजिम १५ दिन पहिले नै अधिवेशनको मिति घोषणा गरी सूचना निकाल्नु पर्नेमा सूचना जारी नहुँदा अधिवेशन अन्याेल भएको शाखा सप्तरीका पूर्व अध्यक्ष एवम् सल्लाहकार जितेन्द्र खड्गाको आरोप छ । 

आन्दोलनकारीहरुले महासङ्घ शाखा सप्तरीको साधारणसभा अविलम्ब घोषणा गरी शाखाका सम्पूर्ण सदस्यलाई सहभागी गराउनुपर्ने, पत्रकारिता क्षेत्रमा योगदान गरेका तथा सक्रिय पत्रकारहरुको सदस्यता कायम गर्नुपर्ने, क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यता दिनुपर्नेसहितका माग अघि सारिएको छ । शाखाका पीडित पत्रकारहरुले गत फागुन २४ गते महासङ्घ सप्तरीको कार्यालयमा तालाबन्दी गरेका थिए भने केन्द्रीय समितिको चैत ७ गतेको बैठकले चैतभित्र जिल्ला अधिवेशन गर्नुपर्ने निर्णय गरेपछि चैत ११ गते उनीहरु आफैंले ताला खोली महासंघलाई जानकारी पत्र बुझाएका थिए ।

यता नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले केन्द्रले परिपत्र नगरेकोले अधिवेशनको मिति घोषणा नगरिएको बताउनुभयो । केन्द्रको सर्कुलर आउनासाथ अधिवेशनको मिति तोक्ने उहाँले बताउनुभयो ।   

आन्दोलनकारीहरुले तीन दिनभित्र अधिवेशनको मिति नतोकिए सङ्घर्षमा जाने भनि महासङ्घ सप्तरी शाखालाई दिएको अल्टिमेटम बिहीवार सकिएको थियो ।