• १३ मंसिर २०८१, बिहिबार

चोरी डकैती नियन्त्रणका लागि ध्यानाकर्षण

blog

सुरक्षाको माग गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिहरु । तस्विरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके,चैत ३० गते । बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय लगातार चोरी तथा डकैतीका घटना बढ्न थालेपछि स्थानीयमा त्रासको वातावरण देखिएको छ । दिनहुँजसो चोरी र डकैती हुन थालेपछि स्थानीयले प्रहरी, प्रशासनको ध्यानाकर्षण गराएका हुन् । 

पटक पटक भएको चोरी तथा डकैतीको घटनालाई लिएर नेकपा (एमाले) ले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको छ । शुक्रवार एमालेका नेताले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएर शान्ति सुरक्षाको माग गर्नुभएको छ । 

बाँकेको जानकी गाउँपालिकाका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएको लुटपाटको घटनाले गाउँपालिकावासी डरत्रासमा बाँच्न बाध्य भएपछि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको एमाले नेता किशोर थापाले बताउनुभयो । 

दुई महिनाको अवधिमा जानकी गाउँपालिका वडा ३ मानपुर, वडा ४ को साहदतपुर र ढुडुवार, वडा ६ को कपासी र सल्यानीटोलमा गरी आधा दर्जन लुटपाटका घटना भएका छन् । मानपुरमा भएको डकैतीमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते हुनुभएको छ ।