• १७ असार २०८२, मङ्गलबार

सहिद स्मारक राति १० बजेसम्म खुल्ने

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, चैत ३० गते  । नयाँ वर्षलगायतका अवसरमा यस क्षेत्रको प्रमुख पर्यटकीय स्थल बनेको सहिद स्मारक नयाँ वर्ष २०८१ सालबाट राति १०ः०० बजेसम्म खुला गरिने भएको छ । सामान्यतया बिदाका दिन र पर्यटकको चाप भएका दिनमा राति ६–७ बजेसम्म खुला रहने गरेको सहिद स्मारक अब नयाँ वर्षबाट बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म खुला रहने भएको छ ।

स्मारकमा नयाँ बत्ती जडान गरी थप सौन्दर्यीकरण गरेसँगै स्मारक विकास समितिले राति १०ः०० बजेसम्म स्मारक परिसर खुला गर्ने गरी तय गरेको छ । स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले अब नयाँ वर्षको दिनबाट नियमित रूपमा बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म खुला रहने व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । उहाँले स्मारकमा थप संरचना निर्माणसँगै बत्ती जडानपछि आकर्षक देखिएको बताउँदै पर्यटकको मागलाई समेत ध्यानमा राखेर समय बढाइएको बताउनुभयो । 

नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन छ । नयाँ नयाँ गन्तव्यमा जाने नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्य स्थलमध्येको एक पछिल्लो वर्षमा सहिद स्मारक बन्दै आएको छ ।

हेटौँडा उपमहानगरपालिका–११ स्थित स्मारकमा नयाँ वर्षमा घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लाग्ने गरेको छ । स्मारकमा बिहानैबाट कोही घुम्न त केही पिकनिक खान साथीभाइ, टोलछिमेकका र परिवार नै आउने गरेका छन् । फागुन, चैतमा प्रायः सुनसान रहने स्मारकमा नयाँ वर्षसँगै भिडभाड लाग्ने गरेको छ । सहिद स्मारकमा सहिद स्तम्भ, चिडियाघर, बालउद्यान, राजनीतिक नेताका नाममा पार्क, सङ्ग्रहालयलगायतका मनोरञ्जन स्थल छन् ।