• १७ असार २०८२, मङ्गलबार

नयाँ वर्षका लागि सौराहाका होटल भरिए

blog

शालिग्राम नेपाल 

चितवन, चैत ३० गते । नयाँ वर्षको अवसर पारेर चितवनका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भिड लागेको छ । केही समय सुस्ताएको चितवनको पर्यटन क्षेत्र अहिले हरेक हप्ता जस्तो पर्यटकको चहलपहल वृद्धि भएको व्यवसायीले जनाएका छन् । नयाँ वर्षको नजिक पारेर भरतपुरमा आयोजना भएको अन्तरप्रदेश खेलकुद प्रतियोगिताले सातै प्रदेशका खेलाडी आउँदा यहाँका होटल भरिएका हुन् । 

खेलकुदका कारण सातै प्रदेशका खेलाडी र त्यससँग सम्बन्धित व्यक्ति आउँदा भरतपुर भ्रमण वर्षलाई टेवा पुगेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । भ्रमण वर्ष घोषणा भएदेखि राष्ट्रिय स्तरका सभा सम्मेलन, महोत्सव, खेलकुदका कार्यव्रmम, पर्यटकीय गतिविधि वृद्धि भएको उहाँले बताउनुभयो । 

क्षेत्रपुरको दियालो फुडल्यान्डका व्यवस्थापक रमेश पौडेलले भन्नुभयो, “दुई महिनायता होटल खाली बस्न परेन । दुई हजार दुई सय जना अटाउने ठुला हल र १९ वटा कोठा सबै भरिने गरी ठुला कार्यव्रmम भएको छ,” उहाँले भन्नुभयो “नयाँ वर्षकेन्द्रित कार्यव्रmमका लागि बुक भएका छन् । भ्रमण वर्षको सुरुवातदेखि नै गतिविधि भएका छन् । वैशाख महिनाका लागि पनि बुक भएका छन् ।   

निकुञ्जको आसपासका होटल तथा रिसोर्ट अहिले भरिएको व्यवसायीले जानकारी दिएका छन् । जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र सौराहाका होटल तीन दिनका लागि भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । हरेक सार्वजनिक बिदाका समयमा यहाँ अन्तरिक पर्यटक अन्य समयको तुलनामा धेरै आउने गर्छन् । उहाँले भन्नुभयो, “नेपाली नयाँ वर्ष भएकाले बिहीबारदेखि नै पर्यटक आएका छन् ।” 

नयाँ वर्षकेन्द्रित सांस्कृतिक कार्यव्रmम आयोजना गरिएकाले थप मनोरञ्जन प्रदान गरिने उहाँले बताउनुभयो । यस वर्ष नेपालीसँगै चिनियाँ पर्यटक धेरै आएका अध्यक्ष गिरीले बताउनुभयो । “यहाँका सबै होटल भरिएका छन्, यो हाम्रो लागि सुखद हो,” उहाँले भन्नुभयो, “लामो समय पर्यटकीय गतिविधि बढाउन र बसाइँको समय लम्ब्याउन निकुञ्ज प्रवेशको टिकट अनलाइन गरिनु पर्छ ।” 

जङ्गल सफारी गर्न चितवन आउने पर्यटकका लागि निकुञ्ज प्रवेश गर्ने टिकटघरमा नै बसेर टिकट काट्न पाउने व्यवस्था भए यस क्षेत्रको विकासमा थप सहयोग पुग्ने क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार तीन दिन यहाँका सबै होटल भरिने गरी ‘बुक’ भएका छन् । तीन वर्ष थलिएको पर्यटन गतिविधि अहिले वृद्धि भएको छ । धेरै पर्यटक आउनुले यहाँको समग्र क्षेत्रमा आर्थिक प्रभाव पार्छ । 

पर्यटन व्यवसायी माधव दवाडीका अनुसार महिनादेखि नै पर्यटकको सङ्ख्या वृद्धि भएको छ । सेभेन स्टार होटलका सञ्चालक दवाडीले भन्नुभयो, “नयाँ वर्षका अवसरमा पर्यटकको सङ्ख्या वृद्धि भएर होटल भरिएको छ । यो समय घुम्नका लागि उपयुक्त छ । वैशाखको अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि हुन्छ ।” उहाँका अनुसार जेठ, असार र साउन महिनामा केही कम भए पनि भदौबाट फेरि आगमन वृद्धि हुने गर्छ ।  

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो, “निकुञ्ज प्रवेश गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको छ । पर्यटन व्यवसायीले भनेको जस्तो अहिले नै अनलाइन टिकट काट्न पाउने व्यवस्था सुरु गर्न कठिनाइ भए पनि यस विषयमा विभागले तयारी भने गरेको छ ।” शिवपुरी निकुञ्जमा अनलाइन टिकटको सुरुवात भएको छ, त्यसको प्रभावकारिता हेरेर मात्र अन्य क्षेत्रमा सञ्चालन हुने सूचना अधिकारी तिवारीले बताउनुभयो । निकुञ्जमा आज प्रवेश गर्न आजै टिकट काट्नुपर्ने व्यवस्था छ । दुई दिनपछि निकुञ्ज प्रवेश गर्न आजै टिकट काट्न पाइने व्यवस्था छैन ।