• १६ भदौ २०८१, आइतबार

काँग्रेसबाट विराटनगरको मेयरमा सात जना सिफारिस

blog

विराटनगर महानगरपालिकाले सिफारिस गरेका मेयर र उपमेयरको नामावली केन्द्रीय कार्यालय सचिव प्रेम केसीलाई बुझाउँदै सभापति चापागाँई ।

नवराज कट्टेल

विराटनगर, वैशाख ३ गते ।  नेपाल काँग्रेस विराटनगर महानगर समितिले मेयरका लागि सातजना र उपमेयरमा ११ जना नेताको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । 

महानगर सभापति दिपक चापागाँईले बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसका तर्फबाट विराटनगरको मेयर र उपमेयरका लागि सिफारिस गरिएको नामावली शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाउनुभएको हो । 

महानगरको मेयरका लागि काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाँई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ । 

अघिल्लो निर्वाचनमा निर्वाचित मेयर पराजुली र उपमेयर इन्दिरा कार्कीको नामसहित महानगर समितिले सातजनाको नामावली केन्द्रीय कार्यालयमा बुझाएसँगै कसले टिकट लिने भन्ने दौडधुप सुरु भएको छ । महानगरका सभापति चापागाँईले विराटनगरमा कुनै पनि तालमेल वा गठबन्धन नगर्ने गरी ह्याभ्बीवेटहरुको नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।

उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव 

विराटनगरको उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ । 

विराटनगरमा कुनै पनि गठबन्धन र तालमेल नगर्ने सुझावसहित एकल निर्वाचनमा जानका लागि नामहरु सिफारिस गरेका छौं, महानगरसभापति चापागाँईले भन्नुभयो, अन्तिम नामको निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयलाई छ, त्यसले नाम टुङ्गो लगाएसँगै निर्वाचनमा होमिनेछौं ।