• ११ पुस २०८१, बिहिबार

विद्यालयनजिक पाठ्यपुस्तक

blog

काठमाडौँ, चैत ३० गते । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ पुगेको पुस्तक केही दिनमै विद्यालयमा पुग्ने छ । विद्यालय पुगेपछि विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने छन् ।

वैशाख १ देखि शैक्षिक सत्र सुरु भए पनि नियमित पढाइ भने वैशाख दोस्रो साताबाट मात्रै सुरु हुने छ । पाठ्यपुस्तक भने ७७ वटै जिल्लामा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

आफ्नो नौ वटा प्रादेशिक कार्यालय र डिपोमार्फत एक हजार २६७ वटा स्थानीय बिक्रेताकहाँ पुस्तक पुगिसकेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताउनुभयो । उहाँका अनुसार स्थानीय बिक्रेतामार्फत सम्बन्धित विद्यालयले पाठ्यपुस्तक लैजाने छन् । 

कुनै जिल्लामा छिटपुट रूपमा पुस्तक अपुग भएमा एक/दुई दिनमै पुर्‍याइने झाले जानकारी दिनुभयो । केही वर्षदेखि विद्यालय तहमा पाठ्यपुस्तक वितरण सहज बन्दै गए पनि शैक्षिक सत्र सुरु हुनुअघि नै सबै स्थानीय बिक्रेतासम्म पुगेको भने यो पहिलो पटक हो । यसबाट विद्यार्थी तथा अभिभावक खुसी भएका छन् भने जनक शिक्षाले पनि सरकारको पर्याप्त सहयोगका कारण यो कार्य सम्भव भएको भन्दै अर्को वर्ष अझै सहज हुने विश्वास व्यक्त गरेको छ । 

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छापेको छ । केन्द्रलाई कक्षा पाँचदेखि १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी दिइएको छ । सरकारी स्वामित्वको यो संस्थालाई गत वर्ष भने कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिएको थियो । 

तर त्यतिखेर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीका हातहातमा पुर्‍याउन सफल भएपछि आगामी वर्षका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको हो । यस पटक पुस्तक छाप्ने मेसिन खरिद र जनशक्ति बढाइएका कारण समयमै पुस्तक जिल्लामा पुग्न सकेको प्रबन्ध सञ्चालक झाले बताउनुभयो ।  सरकारी इच्छाशक्ति, पूर्वयोजना, स्रोत साधन, जनशक्ति र व्यवस्थापनको प्रभावकारी तालमेलले सकारात्मक परिणाम आएको उहाँले बताउनुभयो । कक्षा १ देखि १० सम्म विद्यार्थीलाई यी पाठ्यपुस्तक निःशुल्क वितरण गरिन्छ ।  

जनक शिक्षाको पुस्तक विद्यालयसम्म पुर्‍याउन प्रत्येक जिल्लामा न्यूनतम पाँच/छ वटा बिक्रेता छनोट गरिएको छ । ती बिक्रेतालाई पुस्तक खरिद गर्दा ९ प्रतिशत छुट दिइन्छ । पुस्तक ढुवानीबापत छुट्टै रकम पनि दिइन्छ । 

ढुवानीबापत सबैभन्दा धेरै रकम हुम्ला र जुम्ला जिल्लामा दिइन्छ । जहाँ कुल रकमको ४८ प्रतिशत रकम ढुवानीका लागि दिइन्छ । झाले भन्नुभयो, “यो दुई जिल्लामा पुस्तक बिक्री र ढुवानीबापत जनक शिक्षाले बिक्रेतालाई ५७ प्रतिशतसम्म रकम दिन्छ । जनक शिक्षाले ४३ प्रतिशत मात्रै हात पार्छ,” झाले भन्नुभयो, “जनक शिक्षाको आफ्नै डिपो भएका जिल्लाका लागि भने बिक्रेतालाई ढुवानीबापतको रकम दिइँदैन । बिक्रीबापतको रकम मात्रै दिइन्छ ।”

सरकारले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी भने नौ वटा निजी मुद्रण संस्थालाई दिएको छ । तिनीहरूले पनि पुस्तक छपाइ तथा वितरणलाई तीव्रता दिइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । यी पुस्तक सम्बन्धित जिल्लामा पुगिसकेको केन्द्रले बताएको छ । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।