• २८ फागुन २०८२, बिहिबार

हिमालयन क्वीन्स ग्याम्बिट चेसको तयारी

blog

प्रतियोगिताका लागि सम्झौता गरिँदै ।

काठमाडौँ, फागुन २८ गते । हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार थापाथली चेस पार्कमा हुने भएको छ ।

विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढि खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलदे जानकारी दिनुभयो । 

नेपालमा महिला खेलाडीले मात्रै सहभागि हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाको लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जुन संख्या नेपाली महिला चेसकै कीर्तिमान हो ।

यसपाली शीर्ष आठसँगै यु–७, यु–१०, यु– १३, य–१६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइने छ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसल अवार्ड्स  प्रदान गरिनेछ ।

शनिबार दोस्रो वार्षिकोत्सव मनाउने तयारीमा गरिरहेको एकेडेमीले ब्लिट्ज, र्‍यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।