दाङ, चैत २९ गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टी भन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताउनुभएको छ।
घोराहीमा आयोजित नेपाली कांग्रेस दाङ दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
‘‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ’’, कोइरालाले भन्नुभयो, ‘‘राजनीतिक दलले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिनुपर्छ।’’
राजनीतिक दलले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाको भनाइ छ। नेताले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको उहाँले बताउनुभयो।
घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउनसक्ने अवस्थामा नपुर्याएसम्म आफ्नो यात्रा नरोकिनेसमेत बताउनुभयो।