• ७ जेठ २०८१, सोमबार

भेरी अस्पतालबाट एक लाखले लिए सेवा

blog

अस्पतालले आयोजना गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधि । तस्बिर : गजेन्द्र गुरुङ

खजुरा समाचारदाता

खजुरा, चैत २९ गते । नेपालगन्जस्थित भेरी अस्पतालबाट बाँके जिल्लाका आठ पालिकाको करिब एक लाख नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । वैशाखदेखि माघसम्मको १० महिनामा यति सङ्ख्यामा नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । भेरी अस्पतालले आयोजना गरेको स्थानीय पालिकाका प्रमुख/उपप्रमुखसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. पवनजङ्ग रायमाझीले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी अन्तर्क्रिया कार्यक्रममा मेसु डा. रायमाझीले १० महिनाको अवधिमा एक लाख व्यक्तिले विभिन्न स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका ५० हजार, कोहलपुर नगरपालिकाका ११ हजार, खजुरा गाउँपालिकाका ११ हजार, राप्तीसोनारी गाउँपालिकाका आठ हजार, वैजनाथ गाउँपालिकाका सात हजार, डुडुवा गाउँपालिकाका छ हजार, जानकी गाउँपालिकाका पाँच हजार र नरैनापुर गाउँपालिकाका एक हजार छ सय व्यक्तिले सेवा लिएका छन् । १९४७ सालमा काठमाडौँको वीर अस्पतालसँगै स्थापना भएको भेरी अञ्चल अस्पताल २०२२ सालमा ५० शय्यामा स्तरवृद्धि गरिएको थियो । २०४३ सालमा १५० शय्या सञ्चालनको अनुमति पाएको सो अस्पतालले सोही सङ्ख्यामा अस्पताल सञ्चालन गरिरहेको छ ।

१५० शय्या सञ्चालनको अनुमति भए पनि हाल २११ शय्यामा सञ्चालन हुँदै आएको छ । तीन सय शय्या क्षमताका लागि नयाँ भवन निर्माण सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण हुन नसकेको जानकारी उहाँले गराउनुभयो । पाँच सय शय्या बनाउनका लागि अस्पतालले मन्त्रालयमा सबै कागजात पठाए पनि अर्थ मन्त्रालयमा गएर फाइल रोकिएको पनि मेसु डा. रायमाझीले बताउनुभयो । देशभरका पाँच वटा अस्पताललाई स्तरोन्नति गरी पाँच सय शय्या बनाउने योजना भए पनि डडेलधुरा अस्पताल, भरतपुर अस्पताल तथा कोशी अस्पताल मात्र छानिएको र भेरी अस्पताल परेको छैन । सो अस्पतालमा जनरल सर्जिकल वार्डमा ३० शय्या, मेडिकल वार्डमा ५०, स्त्री तथा प्रसूति वार्डमा ४५, आइसियु वार्डमा १०, एनआइसियु वार्डमा १०, अर्थो वार्डमा २५, सिकलसेल, एनोमिया तथा थालेसिमिया बिरामीका लागि १०, इमर्जेन्सी वार्डमा २५ र हेमोडायलासिसमा छ गरी जम्मा २११ शय्या सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।