घोराही समाचारदाता
घोराही, चैत २९ गते । दाङमा सडकबत्तीको करिब एक करोड विद्युत् बक्यौता उठ्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण घोराही र तुलसीपुर वितरण केन्द्र अन्तर्गत विभिन्न सडकमा जडान गरिएको सडकबत्तीको बक्यौता एक करोड ३८ लाख ६५ हजार ५५६ रुपियाँ उठ्न बाँकी छ ।
विद्युत् प्राधिकरणको तुलसीपुर वितरण केन्द्र अन्तर्गत एक करोड ३५ लाख २८ हजार उठ्न बाँकी देखिएको शाखा प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ सालदेखि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा जडान गरिएका सडकबत्तीको बक्यौता रकम उठ्न सकेको छैन । लामो समयसम्म विद्युत् बक्यौता नउठेपछि केही महिनाअघि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृतसँग भेटेर समस्या समाधानबारे छलफल भएको थियो । तर पनि समस्या समाधान नभएकाले दुई स्थानको लाइन काटिएको उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख गोसलीले भन्नुभयो, “‘लामो समयसम्म पनि विद्युत् महसुल नउठेपछि केन्द्रको निर्देशन अनुसार लाइन काट्न थालेका छौँ । यस अन्तर्गत तुलसीपुर बजार क्षेत्रका तीन स्थानमा जडान भएकोमा दुई ठाउँको काटेका छौँ अब एक स्थानको काट्न बाँकी छ ।” उहाँका अनुसार सडकबत्तीबापत माघ महिनामा पाँच लाख मात्र उठेको छ । नियमित रूपमा किस्तामार्फत बुझाउने तुलसीपुर उपमहानगरपालिकासँग सहमति भए पनि नबुझाएको उहाँले बताउनुभयो । त्यसै गरी घोराही उपमहानगरपालिका क्षेत्रमा सडकबत्ती बालेबापत तिर्नुपर्ने करिब साढे तीन लाख विद्युत् महसुल तिरेको छैन । उपमहानगरले सडकबत्ती प्रयोग गरेबापतको तीन लाख ३७ हजार रुपियाँ तिर्न बाँकी रहेको विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिनुभयो ।
इन्जिनियर शर्माका अनुसार घोराहीमा सडकबत्तीबापतको महसुल पाँच वर्षदेखि तिरिएको छैन । यो रकम जरिबानाबाहेकको भएको र यसमा २५ प्रतिशत जरिबाना लाग्ने उहाँले बताउनुभयो । घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले उपमहानगरले सडकबत्तीको महसुल तिर्न बाँकी नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकबत्तीमा मिटर जडान छैन तर पहिलेदेखि जसरी महसुल बुझाइँदै आइएको थियो उसै गरी एकमुष्ट रकम बुझाउँदै आएका छौँ । उपमहानगरले सडकबत्तीबापत तिर्नुपर्ने रकम छैन ।” त्यसै गरी लमही वितरण केन्द्र अन्तर्गत सडकबत्तीको विद्युत् महसुल उठ्न समस्या नरहेको लमही शाखा प्रमुख युवराज रावतले जानकारी दिनुभयो । नियमित विद्युत् महसुल बुझाउने गरेकाले लमहीमा समस्या नदेखिएको शाखा प्रमुख रावतले बताउनुभयो ।