काठमाडौँ, चैत २८ गते । नेपाल पाराओलम्पिक कमिटी (एनपीसी) ले पेरिस ओलम्पिकमा छनोट हुनुभएकी तेक्वान्दो खेलाडीको प्रशिक्षणलाई थप बलियो बनाउन दुई लाख १५ हजार रुपियाँ सहयोग गरेको छ । कमिटीका अध्यक्ष राधा घलेले बुधबार उक्त सहयोग रकम नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानबहादुर चन्दमार्फत हस्तान्तरण गर्नुभयो ।
चीनमा गत चैत्र २ देखि ४ गतेसम्म सम्पन्न भएको एसियाली ओलम्पिक तथा पाराओलम्पिक छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेसा पेरिस ओलम्पिकका लागि छनोट हुनुभएको थियो । पलेसा पाराओलम्पिकमा छनोट हुने पहिलो नेपाली पारा खेलाडी समेत हुनुहुन्छ । इतिहास बनाउन सफल खेलाडी पलेसाको प्रशिक्षणलाई थप बलियो बनाउन र तयारी राम्रो होस भन्ने हेतुले सहयोग गरेको एनपीसीका अध्यक्ष घलेले बताउनुभयो ।
पलेसाले जापानमा २०७८ सालमा भएको टोकियो २०२० पाराओलम्पिक गेम्समा पनि सहभागिता जनाउनुभएको थियो । पलेसाले सन् २०२२ मा भएको एसियन यूथ पारा गेम्समा नेपालको लागि ऐतिहासिक स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँ चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा कांस्य पदक विजेता समेत हुनुहुन्छ ।
एसियाली पारा गेम्समा नेपालको यो ऐतिहासिक कांस्य पदक हो । हाल पढाएको क्रममा चीनमा रहनु भएकी पलेसा पेरिस ओलम्पिकका लागि तयारी गर्न चीनबाट वैशाख २ गते नेपाल आउन लागेको पलेसाका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।