• १२ साउन २०८१, शनिबार

गृहमन्त्रीमाथि कांग्रेसको आरोप पूर्वाग्रही : सञ्चारमन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, चैत २७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताउनुभएको छ। 

बुधबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताउनुभयो। उहाँले कांग्रेसले सुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताउनुभयो। उहाँले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्ने कुरामा सरकार सकारात्मक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘संसद् लामो समयदेखि अवरुद्ध छ। अवरुद्ध नै भएको त दुई तीन दिन भयो। तर त्यहाँ प्रश्नहरू उठिरहेका छन्। खासगरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरू उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ। समग्र विषयको छानबिन गर्नेकुरामा त कुनै अन्यथाको कुरा भएन। जुन बेलाबाट सहकारीभित्र समस्या देखापरे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन। तर सुरुवातमा नेपाली काँग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन। यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्नेकुरा नै हो। एकातिर प्रधानमन्त्रीको प्रस्ताव गर्न गएको भन्नेकुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्नेकुरामा यस्तो खालको राजनीति हुँदैन।’

मन्त्री शर्माले प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बनाउने गरी सरकार अघि बढिरहेको पनि बताउनुभयो। उहाँले अनलाइन मिडिया आइसके, न्यु मिडिया आइसकेको अवस्थामा सबैलाई प्रोत्साहित गर्नका लागि पनि मिडिया काउन्सिलको आवश्यकता भएको बताउनुभयो। उहाँले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘प्रेस काउन्सिलको ठाउँमा मिडिया काउन्सिल बन्नुपर्छ, किनभने अनलाइन मिडिया आइसके, न्यु मिडिया आइसके, सबैलाई हामीले प्रोत्साहित गर्नुपर्छ, उनीहरूलाई सेवा शुल्क पनि दिनुपर्छ। उनीहरूलाई नियमन पनि गर्नुपर्छ भन्ने ढङ्गले हामी अघि बढेको छौँ। सामाजिक सञ्जाललाई व्यवस्थित गर्न आवश्यक छ। हाम्रो आमसञ्चारको क्षेत्र पुनः संरक्षित हुन्छ। अहिले हामी बजेटको पूर्वसन्ध्यामा भएको हुनाले मन्त्रालयमा छलफल गरिरहेका छौँ। मोफसलमा पत्रकारिता गर्नेकुरा धेरै नै चुनौतीपूर्ण छ। धेरै नै अफ्ठयारो छ।’

उहाँले पत्रकारिता गर्नेकुरा चुनौतीपूर्ण रहेको पनि बताउनुभयो।