• १२ माघ २०८२, सोमबार

कञ्चनपुर–२ मा महिला मतदाता धेरै, उम्मेदवार एक मात्र

blog

निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवारहरु । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, माघ १२ गते ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मकरुपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता छन् । उक्त निर्वाचन क्षेत्रमा पुरुषभन्दा दुई हजार ६८३ महिला मतदाता बढी छन् । सो निर्वाचन क्षेत्रमा ५६ हजार १२८ महिला मतदाता छन् ।  

महिला मतदाता अत्यधिक रहेपनि महिला उम्मेदवार भने एक जना मात्रै बन्नुभएको छ । सो निर्वाचन क्षेत्रमा १८ पुरुष उम्मेवार हुनुहुन्छ भने एक पार्टीले मात्रै महिलालाई उम्मेदवार बनाएको छ ।

महिला उम्मेदवारतर्फ बेदकोट नगरपालिका–६ का प्रेमवती राना हुनुहुन्छ । राना नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको हो । अन्य दलहरुले भने महिलालाई उम्मेदवार नै नबनाएका हुन् । जसले महिलामाथि अझै पनि विभेद कायमै रहेकाले यसमा दलहरु सच्चिनुपर्ने महिला मतदाताहरु बताउँछन् ।

बेदकोटका स्थानीय मतदाता शान्ती पुजाराले महिलाहरुलाई अवसरबाट बन्चित गराउने जस्ता कार्यले समाज विकासमा बाधक बन्ने बताउनुभयो । महिलाहरुलाई अवसर दिनुपर्ने उहाँले माग गर्नुभयो ।

क्षेत्र नम्बर २ अन्तर्गत कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाको वडा नम्बर ८ बाहेकका अन्य वडाहरु समावेश गरिएका छन् । ९ वडा रहेका कृष्णपुर नगरपालिकामा २२ हजार ४५ महिला मतदाता तथा २० हजार ७५० पुरुष मतदाता गरी ४२ हजार ७९६ मतदाता छन् । कृष्णपुर नगरपालिकामा पुरुषभन्दा एक हजार २९५ महिला मतदाता छन् । कृष्णपुर नगरपालिकाको वडा नम्बर २ मा अत्यधिक मतदाता छन् । उक्त वडामा सात हजार १८४ मतदाता छन् भने वडा नम्बर ३ मा कम अर्थात् दुई हजार २९९ मतदाता छन् ।

त्यसैगरी, १२ वडा रहेका शुक्लाफाँटा नगरपालिकामा १७ हजार ६०८ महिला मतदाता र १६ हजार ८३२ पुरुष गरी ३४ हजार ४४० जना मतदाता छन् । शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ११ मा अत्यधिक चार हजार ४१० मतदाता छन् भने वडा नम्बर ३ मा कम अर्थात एक हजार ४६४ मतदाता छन् ।  शुक्लाफाँटामा पुरुषभन्दा सात सय ७६ बढी महिला मतदाता छन् । साथै १० वडा रहेका बेदकोट नगरपालिकाको वडा नम्बर ८ बाहेकका अन्य वडाहरु पनि यसै क्षेत्रमा समावेश गरिएका छन् । बेदकोटमा ३२ हजार ३३८ मतदाता छन् । 

कसले मार्ला बाजी
क्षेत्र नम्बर २ मा यस अघिका निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी हुँदै आउनुभएको छ । विसं. २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता नरबहादुर धामी ३३ हजार ३२० मतसहित विजयी हुनुभएको थियो । नेपाली कांग्रेशका उम्मेदवार एनपी साउदले आठ हजार कम अर्थात् २४ हजार ८९३ मत प्राप्त गर्नुभएको थियो ।

२०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका नेता साउदले हारको बदला लिनुभएको थियो । सो निर्वाचनमा एमालेका उम्मेदवार धामीलाई छ हजार ४५५ मतान्तरले पराजित गर्दे साउद विजयी हुनुभएको थियो ।

आगामी निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हारको बदला लिने तयारीमा देखिनुभएको छ भने नेता साउद अघिल्लो जितलाई निरन्तरता दिने दाउमा हुनुहुन्छ ।  

तर मतदाताहरु भने यस क्षेत्रको विकास गर्न सक्ने नेतालाई आगामी निर्वाचनमा मत खसाल्ने पक्षमा रहेको बताउनुहुन्छ । जसले आगामी निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । आगामी निर्वाचनमा नेकपा एमालेबाट बचनबहादुर सिंह उम्मेदवार बन्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीबाट माधवप्रसाद मन्त, राष्टिय स्वतन्त्र पार्टीबाट दिपक राज बोहरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तिर्जराज चटौत उम्मेदवार हुनुहुन्छ ।