शङ्कर केसी
सल्यान, माघ १२ गते । सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने भएको छ । विद्युतको पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने सल्यान वितरण केन्द्रले जनाएको छ । सोमबार र मङ्गलबार बिहान ८ देखि बेलुका ४ बजेसम्म सल्यान जिल्लाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
सल्यान वितरण केन्द्रका अनुसार सडक डिभिजन कार्यालय दाङबाट राप्ती राजमार्गको राम्री–कपुरकोट खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य भइरहेकाले सो मार्गअन्तर्गत पर्ने स्टिल ट्युबुलर पोल स्थानान्तरण कार्य गरिनेछ ।
यसका लागि ३३ केभी तुलसीपुर–सल्यान प्रसारण लाइन सटडाउन गर्नुपर्ने, कपुरकोट–४ को अरिंगाले फेदीमा एलटी कम्पोजिट लाइन विस्तार गर्नुपर्ने तथा प्रसारण तथा वितरण लाइनलाई चुस्तदुरुस्त राख्न मर्मत तथा सुधार कार्य गर्न लागिएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको सल्यान वितरण केन्द्रले सूचना जारी गर्दै जानकारी गराएको छ ।
नियमित तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन विभिन्न स्थानमा तारलाई छोएका रुख, बिरुवा, बाँससमेत हटाउनका लागि बुस कटिङ गरिने वितरण केन्द्रले जनाएको छ ।