सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), माघ १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुनः दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक निर्वाचन प्रहरीको आवेदन माग गरिको हो ।
धनकुटामा जम्मा एक हजार ८५ जना निर्वाचन प्रहरी कोटा निर्धारण गरिएको थियो । सरकारले पुस २५ गतेबाट माघ १ गतेसम्मका लागि निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा धनकुटामा जम्मा आठ सय ७६ जनाको मात्रै आवेदन परेको थियो । आवश्यक कोटा अनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक निर्वाचन प्रहरीका लागि माघ १० र ११ गते आवेदन म्याद थप गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार यस अगाडि दरखास्त आह्वान गरिएको अवधिमा माग अनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक दरखास्त खुलाइएको बताउनुभयो । उहाँका अनुसार ७६ जना निर्वाचन प्रहरी अपुग भएपछि दोस्रो पटक आवेदन माग गर्दा ४९४ जनाले आवेदन दिएका बताउनुभयो । निर्वाचन प्रहरीका लागि आवेदन दिएपछि सोमबारबाट छनोट प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ
दरखास्त आवेदनका लागि जिल्ला प्रहरी कार्यलय धनकुटा, सशस्त्र प्रहरी बल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ धनकुटा, इलका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरी कार्यालय राजारानी धनकुटामा दिन सकिने व्यवस्था थियो ।