जनार्जन खत्री
सर्लाही, माघ ११ गते । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अवैध ढङ्गले सञ्चालित आयुर्वेद औषधालयले पायल्सको अप्रेसन गर्दा आइतबार दिउँसो एक युवतिको मृत्यु भएको छ ।
नवलपुर चोकदेखि उत्तरतर्फ रहेको मोहन आयुर्वेद औषधालयमा पायल्सको अप्रेसन गराउँदा लालबन्दी नगरपालिका –२, पुनर्वासका बिपिन्द्र पासवानकी छोरी १८ वर्षीया हङ्शु पासवानको मृत्यु भएको हो । अप्रेसनको क्रममा युवती अचेत भएपछि थप उपचारका लागि परिवारका सदस्य र आयुर्वेदका सञ्चालक तथा वैद्य रामविनय साहले नमूना अस्पताल हरिवन लगेका थिए ।
त्यहाँ लग्दा चिकित्सकले युवतीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । आयुर्वेद औषधालयको लापरवाहीले युवतीको मृत्यु भएको भन्दै स्थानीयले आइतबार दिउँसो पूर्वपश्चिम राजमार्गस्थित नवलपुर चोकमा टायर बालेर प्रदर्शनसहित चक्काजाम गरेका छन् ।
प्रहरीले सम्झाइबुझाइ गरी आइतबार साँझबाट चक्काजाम खुलाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ । घटनापछि युवतिको पायल्सको अप्रेसन गर्ने रामविनय साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मोहन आयुर्वेद औषधालय अवैध रुपमा सञ्चालित छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानीले यो औषधालय सञ्चालनका लागि नगरपालिकाबाट कुनै अनुमति नलिइएको जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिका –२ का वडाध्यक्ष किरणकुमार पासवानले नवलपुर चोकमा अवैद्य स्वास्थ्य संस्थाले यसरी धेरै बिरामीको अकालमै ज्यान लिइरहेको बताउनुभयो । केही समयअघि नवलपुर चोकमा रहेको एक स्वास्थ्य संस्थाले सामान्य बिरामीलाई समेत प्लाष्टर गरेर महँगो शुल्क असुलेको विषयमा गुनासो आएपछि नगरपालिकाको टोली अनुगमनमा जाँदा विवाद भएको थियो ।
पूर्व मुख्यमन्त्री सतीशकुमार सिंहले गत वर्ष नवलपुरमा रहेका अवैद्य स्वास्थ्य अनुगमन गरी बन्द गराउनुभएको थियो । अहिले फेरि अवैद्य स्वास्थ्य संस्था खुलेर सञ्चालनमा छन् ।