• २० वैशाख २०८१, बिहिबार

नगर अस्पताल लालबन्दीमा ब्लड बैंक सञ्चालन

blog

ब्लड बैंक स्थापनापछि अस्पतालमा पहिलो पटक बिरामीलाई रगत चढाइँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत २८ गते ।
सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । फागुन २१ गतेबाट शल्यक्रिया (सिएस) माध्यमबाट प्रसुति सेवा सुरु गरेको नगर अस्पतालले ब्लड बैंक समेत स्थापना गरेको हो । ब्लड बैंकबाट मङ्गलबार साँझ पहिलो पटक एक जना वृद्धालाई रगत चढाइएको नगर अस्पतालले जनाएको छ ।

सर्लाहीमा यसअघि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा मात्रै ब्लड बैंक सञ्चालनमा रहेको थियो । पूर्व–पश्चिम राजमार्गस्थित नगर अस्पताल लालबन्दीमा ब्लड बैंक सञ्चालनमा आएसँगै अस्पतालमा प्रसुति सेवा लिन आउने सुत्केरी तथा रगतको कमी भएका अन्य बिरामीलाई राहत मिलेको छ ।
अस्पतालका इन्चार्ज एवम् प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास रायले शल्यक्रिया सेवा सुरु गरेपछि ब्लड बैंक अनिवार्य जस्तै रहेकाले नगरपालिकासँग समन्वय गरी आवश्यक उपकरण जुटाएर ब्लड बैंक सञ्चालनमा ल्याइएको बताउनुभयो । नगर अस्पतालको ब्लड बैंकमा रगतको अभाव हुन नदिन सोमबार लायन्स क्लबको आयोजनामा लालबन्दी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

जहाँ १०८ जनाले रक्तदान गरेका थिए । नगर अस्पतालका इन्चार्ज डा. रायले ३५ दिनभन्दा बढी समय रगत राख्न नमिल्ने र नगर अस्पतालमा अहिले नै त्यतिधेरै रगतको आवश्यक नरहेकाले १५/२० पोका रगत यहाँ राखेर बाँकी पोका रगत जनकपुरस्थित ब्लड बैङ्कमा पठाउन समन्वय भइरहेको बताउनुभयो ।

लालबन्दीमा आवश्यक परे तुरुन्त पठाउने गरी धेरै भएको रगत जनकपुर पठाउने तयारी गरिएको हो । प्रसुतितर्फ एक महिनामा शल्यक्रियासहित ६० भन्दा बढी सुत्केरी गराउँदा अहिलेसम्म रगतको आवश्यक नपरेको र रगत नै चढाउनुपर्ने अन्य बिरामी पनि न्यून रहेकाले तत्काल यहाँ थोरै परिमाणमा रगत राखेर जनकपुर पठाउन लागिएको नगर अस्पतालले जनाएको छ ।