• २० वैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजा अर्चना

blog

राष्ट्रपति रामचन्द्र पौडेल सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गर्नुहुँदै ।

राजविराज(सप्तरी), चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मङ्गलबार बिहान दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेल मन्दिरमा पुग्नुहुँदा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गर्नुभएको थियोे । सो अवसरमा गाउपालिका अध्यक्ष विद्यानन्द चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गर्नुभयो ।


मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराई–मधेशको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी लागेको बताउनुभयो । कोशी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जरूरी रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु ।’’