• १२ साउन २०८१, शनिबार

पाँच वर्षभन्दा बढी नवीकरण नभएका हतियार जफत गरिने

blog

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, चैत २७ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके प्रशासनले पाँच वर्षभन्दा बढी अवधिदेखि नवीकरण हुन नसकेका इजाजत प्राप्त हतियारको यजाजत खारेज गरी जफत गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

पछिल्लो समय हातहतियार इजाजत प्राप्त व्यक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग भएको हुन सक्ने आशङ्का बढेकाले इजाजत प्राप्त हतियारको दुरुस्तता जाँच गर्नुपर्ने देखिएको प्रजिअ पोखरेलले बताउनुभयो । हतियारसहित नवीकरणका लागि कार्यालयमा आउन प्रशासनले ३५ दिने सूचना जारी गरेको उहाँले जानकारी दिनुभयो ।

वर्षेनी नियमित नवीकरण हुन नसकेका हतियारको भौतिक अस्तित्वको अद्यावधिक अवस्था र दुरुस्तताको जानकारी राख्न मात्र होइन, हतियारको प्रयोगको अनुगमन र नियमन गर्न पनि कठिनाइ भएकाले सूचनामार्फत अद्यावधिक समेत हुन प्रशासनले सार्वजनिक रुपमा सूचना जारी गरेको उहाँले बताउनुभयो ।

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार ३५ दिन भित्र इजाजत प्राप्त हतियार लिएरै सम्बन्धित व्यक्ति तथा संस्था स्वयम् प्रशासनमा उपस्थित हुनुपर्नेछ । “पाँच वर्षभन्दा बढी नवीकरण हुन नसकेका हतियारको इजाजत खारेज गरी हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशन छ,” प्रजिअ पोखरेलले भन्नुभयो ।

बाँकेमा उल्लेख्य सङ्ख्यामा हतियार नवीकरण हुन नसकेको प्रजिअ पोखरेलले बताउनु भए पनि सङ्ख्या भने उल्लेख गर्नुभएन । इजाजत प्राप्त हतियारको प्रयोग र दुरुस्तता यकिन गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।