बुटवल समाचारदाता
बुटवल, चैत २७ गते । रुपन्देहीको सैनामैना नगरपालिकाले पुराना तथा ऐतिहासिक थारूगाउँको विकास गर्ने उद्देश्यले यो वर्ष ‘उज्यालो थारुगाउँ’ अभियान सुरु गरेको छ । नगरपालिकाले गत वर्ष पाँच वटा पुराना थारूगाउँलाई उज्यालो गाउँ बनाउने अभियान सञ्चालन गरेको हो । यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिँदै निर्माणको काम अघि बढेको छ ।
सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले पुराना थारूगाउँमा सडक, बिजुली, खानेपानीलगायत पूर्वाधार नहुँदा बर्खायाममा घुँडा घुँडासम्म हिलोमा हिँड्नुपर्ने बाध्यता रहेकामा अब उज्यालो गाउँ अभियानले गाउँसम्मै पिच सडक र बिजुली पु¥याउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष सालझन्डीको बिचौवापुर, पर्रोहाको पर्रोहा गाउँ, बुद्धनगरको पकलभेडवा, रामापुरको भड्छा र ताली गाउँलाई उज्यालो गाउँ बनाउने अभियान अन्तर्गत गाउँमा पक्की सडकका साथै बिजुलीको व्यवस्था गरिएको छ ।
यस वर्ष पनि सैनामैना नगरपालिका–१, पुरानो पर्रोहा गाउँ, वडा नं. ४ को लेडुवा र रन्यौरागाउँलाई उज्यालो गाउँ बनाउने अभियान अन्तर्गत सडक निर्माण भइरहेको छ । यस नगरपालिकाले ‘उज्यालो थारूगाउँ’ अभियान अन्तर्गत २० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष वडा नं. ११ को बिचौवापुर गाउँको उज्यालो गाउँ अभियान अन्तर्गत गाउँसम्म सडक पिच गरिएको थियो । वडा नं. ४ का सदस्य दानबहादुर चौधरीले यस वर्ष पनि अभियान सुरु गरेर पुराना थारूगाउँको मुहार नै परिवर्तन गर्ने उद्देश्यले सडक पिच गर्ने काम सुरु गरिसकेको बताउनुभयो ।